गलकोट चिनाउने वृत्तचित्र ‘गलकोट’ को जापानबाट प्रदर्शन सुरु, पर्यटक प्रवर्द्धनमा टेवा पुर्याउने दर्शकको प्रतिक्रिया

-


     थम्मन थापा     
     असाेज ११ गते २०७९


देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोबाट वृत्तचित्रको औपचारिक प्रदर्शन शुरु भै नागोयामा सोमबार प्रदर्शन भैसकेको र ओसाकामा अक्टोबर १३ मा प्रदर्शन गरिने वृत्तचित्र निर्माता कम्पनी ‘युएसबी’ सेवाले जनाएको छ ।

“जापानपछि बेलायत, हङकङलगायत देशमा च्यारिटीस्वरूप प्रदर्शन हुँदैछ”, कम्पनीका निर्देशक आकाश थापाले भने, “प्रदर्शनबाट बचेको पैसा नेपालमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गर्ने सोच छ ।” टिकट काटेर वृत्तचित्र हेर्न आएका दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्ष्य गरी वृत्तचित्र प्रदर्शनमा आएको हो । धेरै गलकोटे भएको देशमध्ये जापान पनि एक हो । गलकोटको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक पक्षलाई दृश्य र ध्वनिमार्फत वृत्तचित्रमा उतारिएको निर्देशक थापाले बताए ।

“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष समेत रहेका गलकोटका युवा दिनेश थापाले भने “गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री वृतचित्रमा सङ्कलन गरिएको छ ।”

कम्पनीले एक वर्ष लगाएर वृत्तचित्र तयार गरेको थियो । गलकोटलाई देश–विदेशमा चिनाउन र पहिचान स्थापित गर्न वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । गलकोटको पर्यटन प्रवर्धनका दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पर्थ्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास छ ।

बागलुङको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, आधुनिक खुला मूर्तिकला सङ्ग्रहालय, राम्चेढुङ्गा, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ ।

विकास गतिविधिले गलकोट सहरोन्मुख बन्दै गएको छ । असी मिनेटको उक्त वृत्तचित्र निर्माणमा झन्डै  ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ । तीन वर्षअघि वृत्तचित्र निर्माण गरिए पनि कोभिड–१९ महाव्याधिका कारण ढिलो गरी प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?