नेपाली संस्कार कति उदार र अनुशरन योग्य छ। एकलाई अपथ्यारो पर्दा अर्कोको कति सहयोगी भावना उर्लेर आउछ भन्ने गतिलो उदाहरण हालै गलकोट नगरपालिका वार्ड नम्बर ९ बास्खोलाका हर्कबहादुर बिकलाई परदेशमा बस्ने नेपालीहरुले गरेको आत्मीयताबाट देख्न सकिन्छ ।
अति विपन्न दलित परिवारका हर्क लामो समयदेखि अल्सरको उपचार गराउदै आएका थिए । गत महिना घरको आगनमा अचानक लड़ी गर्धनको हड्डी भाचिन पुग्यो ।उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो । त्यहा उपचार हुन नसक्ने जानकारी पाएसंगै परिवार ठूलो बिलखबन्दमा पर्यो । परिवारको मियो नै यस्तो अवस्थामा हुदा कसको परिवारमा चिन्ता थपिदैन र !
हर्कको उपचारमा सहयोग गरिदिन परिवारले सक्नेजति ठाउमा हारगुहार गरे, कसैले उनीहरुको हारगुहार सुने त कसैले सान्त्वना मात्र प्रदान गरे । सहयोगीहरूको साथ पाएर थप उपचारका लागि पोखरा लगियो तर उनको उपचारमा ठुलो रकम लाग्ने जानकारी पाएसंगै परिवार थप चिन्तामा पर्यो ।
हर्क घाइते र बिरामी रहेको जापानमा कार्यरत छिमेकी तथा गलकोट समाज जापानका युवा संयोजक युवराज गौतमलाई सामाजिक संजाल मार्फ़त जानकारी भएसंगै सहयोग गर्न लागि परे र ‘हर्क बिक बचाउ अभियान’ को संचालन गरि परदेशमा रहेका सहयोगी मनहरुलाई जोड्दै रकम संकलनमा लागिपरे । र छोटो समय मै ३ लाख बढ़ी रकम जम्मा गर्न सफल रही उपचारमा सहयोगी बने ।
“आर्थिक अवस्था पनि कमजोर रहेको अनि परिवारको आड भरोसा नै हर्क रहेकोले उनी बिनाको उनको परिवारको अवस्था कल्पना मात्र गर्दा पनि कहाली लाग्दो देखेर आफूले सक्दो सहयोग गरौ भन्ने मान्यताले अभियान संचालन गरेको हु ।” अभियानकर्ता गौतमले भने ।
आफूले सक्ने सहयोग गरेर पिडित र विपन्न परिवारको सहयोगी बन्न गरेको आग्रहमा स्वतःस्फूर्त रूपमा जापानमा कार्यरत ८५ जना नेपाली दाजुभाइ दिदीबहिनी बाट ३ लाख १७ हजार ६ सय ४ नेपाली रकम जम्मा भएको सो रकम भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रवर्ती शर्मा, दलित संजालका प्रतिनिधि चन्द्रबहादुर बिक, जनप्रतिनिधि तिलकुमारी बिक, र शिक्षक नन्दराम गौतमले घाइते बिरामी हर्कको घरमै पुगेर रकम हस्तान्तरण गरिएको छ ।
सहयोग रकम ग्रहण गर्दै हर्कले आर्थिक अभावमा आफू अब जीवन भर अशक्त भै जीवन काटनुपर्ने पिडाले छटपटाई रहेको अवस्थामा यसरी सहयोग पाउदा छिटै निको हुने हौंसला मिलेको र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहेको बताए ।
हर्क लामो समयदेखि पेटको अल्सर भै भारतमा गएर उपचार पछि घरमै स्वास्थ्य लाभ गरिरहेको अवस्थामा शौचालय जाने क्रममा लडेर गर्दनको हड्डी भाचिन ग़ई हाल उपचाररत रहेका छन ।
अभियानकर्ता गौतमले आफ़नो जन्मेको ठाउमा रहेको दलित बस्तीका बालबालिकालाई शिक्षामा सहयोग पुर्याउने उदेश्यले अक्षेयकोषको समेत स्थापना गरेका छन ।