जापानमा जनसंख्याले निम्त्याएको संकट, टोकियो छाड्नेलाई सरकारले दिन्छ १० लाख येन 

-


     जनहित न्युज    
     माघ १२ गते २०७९


Skyscrapers and buildings illuminated at night on the skyline in Tokyo, Japan. Photographer: Keith Bedford/Bloomberg

जापानले देशको जनसांख्यिक सन्तुलन मिलाउने अनौठो तरिका ल्याएको छ । जापान सरकारले लामो समयदेखि टोकियोमा बसिरहेकाहरूलाई राजधानी शहर छाड्न प्रोत्साहित गरिरहेको छ । जापानले सन् २०१९ देखि यस्तो नीति ल्याएको हो । जसको उद्देश्य जन्मदर कम भएका र बाँकी जनसंख्या पनि वृद्धवृद्धाको बढी भएका स्थानमा बच्चाहरू हुर्काउनु हो ।

जापानले यसअघि टोकियो छाडेर जाने परिवारलाई प्रतिबच्चा ७ लाख येन दिँदै आएकोमा अब यो रकम बढाएर प्रतिबच्चा १० लाख येन बनाइएको छ । सन् २०१९ मा केबल ७१ परिवारले यो स्किमअनुसार टोकियो छाडे भने २०२० मा यो संख्या बढेर २९० भएको थियो ।

आगामी ५ वर्षमा १० हजार परिवारलाई गाउँमा बस्न प्रोत्साहन गर्ने सरकारको लक्ष्य छ । सरकारले ग्रामिण इलाकामा आधारभूत सुविधा तीव्र रूपमा बढाइरहेको छ । यसरी सरकारी सुविधा लिएर गएको परिवारले कम्तिमा पनि ५ वर्ष सोही गाउँमा बिताउनुपर्छ । पाँच वर्षसम्म नबसेको खण्डमा भने सरकारले दिएको प्रोत्साहन रकम फिर्ता गर्नुपर्छ । यो कार्यक्रमअन्तर्गत १ भन्दा बढी बच्चा हुने परिवारलाई बढी आर्थिक सहायता प्रदान गरिनेछ । सन् २०२१ मा ११८४ परिवारले टोकियो छाडेका थिए ।

जापानका शहरहरूको जनसंख्या निरन्तर बढिरहेको छ भने गाउँहरू विस्तारै खाली हुँदै गइरहेका छन् । जापानमा एक वर्गकिलोमिटर क्षेत्रफलमा ३३८ जना बसोबास गर्छन् । तर, राजधानी टोकियोमा १ वर्गकिलोमिटर इलाकामा ६ हजार ४०३ जना मानिस बसोबास गर्छन् ।

जापानको कुल क्षेत्रफल ३ लाख ८० हजार वर्गकिलोमिटर रहेको छ भने जनसंख्या १२ करोड ६० लाख छ । जापानमा १४ वर्षसम्मका १ करोड ६० लाख, १५ देखि ६४ वर्षसम्मका ७ करोड ५० लाख, ६५ वर्षभन्दा माथिका ३ करोड ७० लाख जनसंख्या छ । यसको अर्थ जापानमा बालबालिकाको संख्याभन्दा वृद्धवृद्धाको जनसंख्यो दोब्बरभन्दा पनि बढी छ । जापानको जनसंख्याका करिब ३० प्रतिशत ६५ वर्षमाथिका छन् । जापानको ठूलो जनसंख्या या त वृद्धवृद्धाको छ, या वृद्ध हुने दिशातिर अघि बढिरहेको छ ।

जापानमा करिब ६० प्रतिशत व्यापारी यस्ता छन्, जसको कोही उत्तराधिकारी छैन । जापानका केही उद्योगपति आफ्नो उद्योग उत्तराधिकारी नभएका कारण बेच्न चाहन्छन्, तर किन्ने कोही पनि छैन । त्यसैले जापानमा साना र मध्यम श्रेणीका धेरै व्यापार बन्द हुने दिशामा छन् । यी उद्योग तथा व्यापारको विरासतलाई अघि बढाउन उनीहरूका सन्तान छैनन् । सन् २०२१ को एक रिपोर्टअनुसार जापानमा २ हजार ४१३ कम्पनी बिक्री भए । ४४ हजार व्यवसाय किन्ने कोही नहुँदा बन्द भए । यसमध्ये ५५ प्रतिशत अर्थात २४ हजार व्यापार नाफामूलक थिए ।

कुनै पनि देशमा यतिधेरै नाफामूलक व्यवसाय बन्द हुनु त्यहाँको अर्थव्यवस्थाका लागि ठूलो नोक्सानी हो । जनसंख्या कम भएका कारण जापानसँग हतियार छ, पैसा पनि छ, तर ठूलो मात्रामा सेनामा भर्ती हुने युवाहरू छैनन् । २०२३ का लागि जापानले आफ्नो रक्षा बजेटमा करिब २६ दशमलव ३ प्रतिशत वृद्धि गरेर ६ दशमलव ८२ टिलियन येन अर्थात ५१ दशमलव ४ बिलियन डलर बनाएको छ ।

जापानसँग हाल ३ लाख ९ हजार सैनिक रहेकामा २ लाख ४० हजार मात्रै सक्रिय सैनिक छन् । दोस्रो विश्वयुद्धपछि लिँदै आएको रणनीति जापानले परिवर्तन गरेर रक्षा क्षेत्रलाई मजबुत बनाउने सोचिरहेको छ । तर उसँग मजबुत रक्षा शक्तिका लागि घट्दो जनसंख्या बाधक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?