नेपाल फेस्टिवलका लागि तय गरिएका ३७ स्टल वितरण सम्पन्न, फेस्टिवल तयारी अन्तिम चरणमा

-


     जनहित न्युज    
     असार १२ गते २०७९


आगामी जुलाई ३० र ३१ तारिक जापानको राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ ।

राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक गैर आवासीय नेपाली संघ जापानको संयोजनमा गोला प्रथाद्धारा स्टल बाँडफाँड गरेको हो ।
वितरित स्टलहरू मध्य खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको छ । यस बाहेक नेपाली सेवा प्रदायक कम्पनीहरुका १८ वटा स्टल रहने भएको छ । सबै स्टल वितरण गोला प्रथाद्धारा स्टल आयोजकको रोहवरमा वितरण गरिएको थियो ।

छुट्याइएको स्टल शतप्रतिशत तोकिएकै समयमा वितरण भएर थप माग भएकोमा उपलब्ध गराउन नसकिएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिए । स्टल पाएका सबै कम्पनीहरुले तोकिएका मापदण्ड तथा नियमहरू पालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै लामिछानेले सोही अनुसार एनआरएनए जापानले समेत फेस्टिवल अवधिमा निरिक्षण गर्ने बताए ।

नेपाल फेस्टिवल स्थलमा एनआरएनए जापानले स्वास्थ्य परामर्श शिविर पनि संचालन गर्ने भएको छ । दुवै दिन रहने स्वास्थ्य शिविर स्टलबाट सामान्य स्वास्थ्य सम्वन्धि जानकारीहरु लिन सकिने बताइएको छ ।

यस बाहेक एनआरएनए जापान मार्फत जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई हरेक वर्ष प्रदान गरिने नगद छात्रबृत्ती उपलब्ध गराउँदै आएको आएचएनओले स्टल राखेर विद्यार्थीहरुको लागि अध्ययन सहित रोजगार लगायत विषयमा जानकारी उपलब्ध गराउने भएको छ ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा नेपाल र जापानका बिचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायकाबिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने लगायतका विभिन्न उद्देश्य राखी आगामी जुन ३० र ३१मा नाकानोमा हुने १२ औ नेपाली फेष्टिवल हुन लागेको हो । फेस्टिवल सफल बनाउन एनआरएनए जापानले विभागिय समिति गठन गरेर तिब्र रुपमा तयारी र कामहरु गरिरहेको छ ।

आगामी तिन साता प्रचारात्मक कार्यक्रममा जोड दिनुपर्ने भएकाले यसमा जापानका सबै संघसंस्था, नेपालीहरु सहित नेपाललाई माया गर्ने जापानी नागरिकहरुबाट थप प्रचार र साथको अपेक्षा गरिएको बताउँदै एनआरएनए जापानका प्रवक्ता तथा नेपाल फेस्टिवल स्टल व्यवस्थापन विभाग प्रमुख लामिछानेले सबै जापानवासी नेपालीहरुमा आफुले चिनेका जापानी नागरिक तथा काम गर्ने कम्पनीहरुमा समेत नेपाल फेस्टिवल बारे जानकारी गराउँदै सहभागी गराउन पहल गरिदिन सबै नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?