
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ ।
आयोगका अनुसार प्रदेश १ मा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, पालिका अध्यक्षमा तीन हजार ३६३ र उपाध्यक्ष पदमा दुई हजार ३८२ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदमा ३४ हजार ३५७, महिला सदस्य पदमा २५ हजार ३४५, दलित महिला सदस्य पदमा २२ हजार ८९९ र वडा सदस्य पदमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुँदैछ ।



