गुलियो मधु, दुःख दिने मधुमेह

-


     डा. अरुणा उप्रेती     
     असाेज १० गते २०७९


‘मधु’ मह, गुलियो आदि शब्द मात्रैले मुखमा स्वाद दिलाउँछ, खाँदा त झन् मीठो । पञ्चामृत बनाउँदा चाहिने पाँच चिजमध्ये एक महले स्वास्थ्य राम्रो त पार्छ तर, मधु यति प्रिय भएर पनि जब शरीरमा ‘मधुमेह’ हुन्छ तब हामी यसबाट तर्सिन्छौं । यसपछि चिन्ता सुरु हुन्छ– लौ कसरी अब जीवन विताउने, के खाने ? के पिउने ?
अनि छट्पटी हुन्छ । जीवनभर औषधि खानुपर्छ भनेर मन अस्वस्थ हुन्छ । झन् यदि बालबालिकालाई मधुमेह भयो भने त अभिभावकको मन नै भरङ्ग हुन्छ । जुन मधु कहिले प्रिय बन्छ, पञ्चामृतको एक अंश मानिन्छ, त्यही मधु शरीरमा बढी भएपछि चाहिं रोग बन्न जान्छ । कस्तो विसंगति !
अहिले मधुमेहले ‘बिर्सने रोग’ पनि गराउन सक्छ भनेर अनुसन्धान भइरहेको छ । ‘बिर्सने रोग’ लाई कतिले त ‘मधुमेह तेस्रो’ भन्ने नाम पनि दिएका छन् ।

सरकारले मिर्गौलाको डायलासिस गर्न बिरामीलाई एक हप्तामा दुई चोटिको लागि पैसा दिने नीति बनाएको छ । तर सरकारले मिर्गौला बिग्रन नै नदिन कस्तो किसिमले रोकथाम गर्न सकिन्छ भनेर जनमानसमा प्रचारप्रसार गर्न कुनै कदम चालेको छैन ।

आजकल, चिनी रोगको बारेमा नसुन्ने प्रायः कमै हुन्छन्, टोल–टोलमा मानिस यस्तो समस्याबाट पीडित छन् । यस्तै अवस्था रहिरह्यो भने सायद केही समयपछि हरेक परिवारमा कोही न कोही मधुमेहका रोगी हुनेछन् ।
मोटोपन, मधुमेह र खानपानको कारणले जनस्वास्थ्यमा परेको समस्यालाई लिएर कतिपय देशले चासो देखाउन थालेका छन् । सिंगापुरमा त सन् २०१७ मा प्रधानमन्त्री लीले नै सिंगापुरमा भएको मधुमेहको समस्याका बारेमा बोलेका थिए । त्यहाँ हरेक ९ जनामा एकलाई मधुमेह छ । ६० नाघेका मानिसमा हरेक १० जनामध्ये ३ जनालाई मधुमेह छ ।
चिसो पेय पदार्थमा ३५५ मिलीमा ११ चम्चा चिनी हुन्छ । ‘हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ’ले गरेको अध्ययनबाट देखिएको र विश्व स्वास्थ्य संगठनले भने अनुसार, एक दिनमा पुरुषले ९ चम्चा, महिलाले ६ चम्चा चिनी खान भनेर सिफारिस गरेको छ । तर चिसो पेय पदार्थ, केक, कुकिज, बिस्कुट, पाउरोटी आदि खाँदा त योभन्दा धेरै नै चिनी खाइन्छ ।

अहिले मधुमेहले ‘बिर्सने रोग’ पनि गराउन सक्छ भनेर अनुसन्धान भइरहेको छ । ‘बिर्सने रोग’ लाई कतिले त ‘मधुमेह तेस्रो’ भन्ने नाम पनि दिएका छन् ।


साथै अन्य पदार्थ जस्तै फलफूलको रस भनेर स्वास्थ्य बिगार्ने रस पनि चिनीले भरिपूर्ण हुन्छ । जन्मदिनमा स्वास्थ्य राम्रै रहोस् भनेर शुभकामना दिंदा पनि केक दिएर हामी बालबालिकालाई मधुमेहको समस्या बढाइरहेका हुन्छौं ।
केहीअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डा. प्रदीप श्रेष्ठले मधुमेहको समस्याका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रबाट नेपालमा दोस्रो प्रकारको मधुमेहको जगजगी रहेछ भन्ने देखियो । यो शरीरमा चिनीको मात्रा नियमित गर्ने इन्सुलिन नामक हर्मोनले राम्रोसँग काम गर्न नसकेको अवस्था हो ।
उनका भनाइमा, दक्षिणएशियामा नै यस्तो दोस्रो प्रकारको मधुमेहको कारण भनेका विभिन्न पत्रुखाना, चाउचाउ, चिप्स, अनेक प्रकारका चिसो पेय पदार्थ, ससेज जस्ता मासुका परिकार हुन् ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा निस्किएको एक लेख अनुसार, झण्डै एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखियो । अनुसन्धानले पत्रुखानामा पनि चुरोट र रक्सी जस्तै लत बस्ने हुन्छ भन्ने देखाएको थियो ।

कालिकोटका २४ वर्षे सिर्जन शाही उच्च शिक्षा अध्ययन गर्छन् । उनी विज्ञानमा रसायन शास्त्र लिएर पढ्दैछन् ।
बिहान भात खाएर हिंडेपछि दिउँसो खाजाको लागि कहिले मम, कहिले चाउचाउ खाने गर्दा रहेछन् । दुई महिनामा ७ किलो वजन घटेर, मुख सुक्खा भएर चिकित्सककहाँ आउँदा त उनी निकै बिरामी देखिन्थे । उनको शरीरमा चिनीको मात्रा सामान्य भन्दा झण्डै पाँच गुणा बढी थियो ।
उनलाई तुरुन्त उपचार गरियो, इन्सुलिन चलाइयो । खानपिन र जीवनशैली परिवर्तन गर्नुपर्ने कुरामा चाहिं बारम्बार जोड दिइयो । उनले पत्रुखाना खान छोडे, स्वस्थकर खाजा खान थाले, जीवनशैली बदले र इन्सुलिन चलाउन बिस्तारै कम गरियो । अहिले त बन्द नै गरियो । अहिले उनले स्वस्थ भोजन समयमा खान थालेका छन् । उनी डराए तर डाक्टरको सल्लाह राम्रोसँग माने ।

मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो, प्रकारको मधुमेहमा शिशुको शरीरमा इन्सुलिन नामक तत्व जसले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ, त्यो अभाव हुन्छ ।
दोस्रो, प्रकारको मधुमेह प्रायः ४०–५० वर्ष उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरैमा हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन ।
खानपान तथा मोटोपनले गर्दा बालबालिकामा दोस्रो प्रकारको मधुमेह बढ्नु परिवारको लागि दुःख र विडम्बना पनि हो । बच्चालाई माया गरेर चाउचाउ, चिजबल, चिसो पेय दिंदा अभिभावकले कहिल्यै पनि कल्पना गरेका हुँदैनन् कि आफ्नो सन्तानलाई माया होइन अस्वस्थ होस् भनेर रोगको पोको र बोतल दिइरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?