दशैंको मुखमा नेपाली मुद्रा इतिहासकै कमजोर, रेमिटेन्स गर्नेहरू मर्कामा 

-


     जनहित न्युज    
     असाेज १० गते २०७९


नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार र आइतबार १ डलरको १२९.८९ रुपैयाँ छ । यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।
नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थीर राखेको छ । त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् ।
तर, डलर महँगो भए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने ओरालो लागेको छ । कच्चा तेलको मूल्य ब्यारेलको ८० डलर नजिक आएको छ । विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने शुक्रबार ८०.७२ भारू थियो । भारतीय रूपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर भएका कारण भारतीय रुपैयाँ कमजोर वा बलियो हुँदा त्यसैअनुरुप नेपाली रुपैयाँको भाउ निर्धारण हुन्छ ।
नेपालले १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँमा स्थिर विनिमय दर कायम राखेको छ । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेका कारण विनिमय दरमा नेपाली मुुद्राको अमेरिकी डलरसँग सिधै कुनै सम्बन्ध छैन ।
तर, अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ स्वत: बढ्नेछ, जसले गर्दा चाडबाड अगाडि आन्तरिक बजारमा मूल्यवृद्धि हुन्छ । डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ । राष्ट्र बैंकका अनुसार दसैैंलगायत चाडबाडमा मूल्यवृद्धि झन् माथि जाने देखिन्छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत साउनमा ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।
यसैबीच नेपाली बजारमा सुनको मूल्य पनि एकै दिन तोलाको एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?