
जापान सरकारले आफ़्ना नागरिकहरुको ब्यक्तिगत जानकारीहरुलाई एउटै कार्डमा एकिकृत गरी प्रशासनिक कार्यहरुको सहज ब्यवस्थापन गर्ने उदेश्यका साथ सन् २०१६ जनवरीदेखि लागु गरेको माईनम्बर कार्ड प्रणाली सरकारले सोंचे अनुसारको गतिमा नागरिकले प्रयोग नगरे पछि (२०२२ मे १ को तथ्यांक अनुसार करिब ४४ प्रतिशत नागरिकले मात्र यो कार्ड लिएका छन्) सरकारले बिभिन्न समयमा बिभिन्न क्याम्पेन/योजना लागू गरी यसको प्रयोगकर्ता बढाउन खोजेको देखिन्छ ।
यसै शिलशिलामा अहिले चलिरहेको माईनम्बर पोइन्टको बारेमा सायद तपाईंहरुले सुन्नु भएकै होला । साधारण रुपमा बुझ्दा नया माईनम्बर कार्ड लिंदा प्रतिब्यक्ति २० हजार येनसम्मको पोइन्ट पाइने र सोही बराबरको किनमेलमा प्रयोग गर्न पाइने भन्ने बुझिन्छ । यसरी हेर्दा प्रति परिवार कम्तिमा पनि ३ जना सदस्य हुंदा ६० हजार येन बराबरको पोइन्ट पाइने देखिन्छ र यसले एक पटक त सबैलाई लोभ्याउंछ नै । तर, उक्त पोइन्ट पाउनको लागि त्यति सजिलो भने नभएको मैले अनुभव गरें ।
कसरी पाइन्छ त २० हजार पोइन्ट ?
माई नम्बर पोइन्टको मुख्यतया ३ वटा योजना रहेको छ ।
योजना १ : नयां माई नम्बर कार्ड जारी गरेबापत ५ हजार येन बराबरको पोइन्ट प्राप्त गर्न सकिन्छ । तर त्यसको लागि तपाईंले SUICA, JRE Card लगायतको तोकिएको कार्ड अर्थात बिद्युतिय भुक्तानी मार्फ़त २० हजार येन बराबरको रिचार्ज वा किनमेल गर्नु पर्ने हुन्छ । त्यसरी किनमेल वा रिचार्ज गरेको अर्को महिनामा तपाईंले उक्त पोइन्ट प्राप्त गरी प्रयोग गर्न सक्नु हुनेछ ।
योजना २ : स्वास्थ्य बिमा कार्ड (होकेन कार्ड) को रुपमा माई नम्बर कार्डलाई दर्ता गरी अस्पताल वा क्लिनिकमा जादा होकेन कार्डको रुपमा माई नम्बर कार्ड प्रयोग गर्नु भएमा ७ हजार ५०० येन सम्मको पोइन्ट प्राप्त गर्न सक्नु हुने छ । तर होकेन कार्डको सट्टामा माईनम्बर कार्ड प्रयोग गर्न सकिने स्वास्थ्य संस्थाहरु २०२२ मे महिनाको तथ्यांक अनुसार करिव १९ प्रतिशत मात्र छन् ।
योजना ३ : तपाईंले आफ़्नो बैंक खाता (बिशेष गरी सरकारी रकम/भत्ताहरु जम्मा गर्ने खाता) लाई माई नम्बर कार्डसंग जोड्नु भयो भने त्यस बापत पनि ७ हजार ५०० येन बराबरको पोइन्ट पाउन सक्नु हुनेछ । स्मरण रहोस, बैंक खातालाई माई नम्बर कार्डमा जोड्ने कुरामा ब्यक्तिगत गोपनियताको दृष्टिकोणबाट जापानीहरुले सबैभन्दा बढि बिरोध गरेका थिए ।
यसरी माथीका ३ वटै योजनामा सहभागी हुनु भएमा बल्ल तपाईंले २० हजार येन बराबरको माईनम्बर पोइन्ट पाउन सक्नु हुनेछ ।
यो जानकारी डाक्टर भूपालमान श्रेष्ठको फेसबुक वालबाट साभार गरिएको हो । यो श्रेष्ठको ब्यक्तिगत अनुभव तथा सरकारद्वारा जारी गरिएको सामाग्रीहरुको आधारमा लेखिएको हो । यदि यसमा कहिं कतै केहि थप गर्नुपर्ने विषय रहेमा औंल्याइदिनु हुन अनुरोध छ । पछिल्लो समयमा माई नम्बर पोइन्टको बारेमा नेपालीहरु बिच पनि कुराहरु हुने गरेको पाईएकोले कार्ड लिनु अघि थोरै भएपनि जानकारी होस् भन्ने हेतुले मात्र यो सामग्री तयार पारिएको हो )



