रक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

-


     जनहित न्युज    
     मंसिर ९ गते २०८०


पोर्चुगल/ आफ्नै साथीको चक्कु प्रहारबाट पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । चक्कु  प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिए । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए। पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति चक्कु प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक  वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि अस्पताल राखिएको बताइएको छ ।

चक्कु  प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?