
जापानस्थित नेपाली दूतावासले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरणको लागि आवेदन दिन प्रि- इनरोलमेण्ट बुकिंङ खुला गरेको छ ।
जापानमा करिब लाख नेपाली विभिन्न पेशा व्यावसाय अध्ययन तथा रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा राहदानी विभागले शुक्रबार जापानको टोकियोस्थित नेपाली दूतावासबाट ई–पासपोर्टको उत्पादनको सफल परीक्षणसंगै प्रि इनरोलमेन्ट बुकिङ शुरुवात गरिएको हो । यो संगै अब जापानबाटै विद्युतीय राहदानी ( ई-पासपोर्ट) जारी हुने भएको छ ।
टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको छ । परीक्षण सफल भएसँगै दूतावासले ई पासपोर्टका लागि शुक्रबारदेखि नै बुकिङ खुला भएको जनाएको छ ।
राहदानी विभागले विभाग र विदेशस्थित विभिन्न नेपाली नियोगहरूको बिचमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी जारी गर्ने प्रक्रियाका बारेमा जानकारी गराउँदै नियोगहरूलाई आवश्यक निर्देशन दिएका थिए ।
प्रि-इनरोलमेन्टका लागि राहदानी विभाग वा राजदूतावासको वेभसाइटमा राखिएको लिङ्कमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ । विद्युतीय राहदानी शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सीमित बुकिङ मात्र खुला गरिएको दूतावासले जनाएको छ ।
उक्त अवधिभर हालको राहदानी हराएका, राहदानी र भिषाको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्मको अवधि बाँकी रहेका व्यक्तिले प्रि-इनरोलमेन्ट गरी समय बुकिङ्ग गरेर लाईभ इनरोलमेन्टका लागि राजदूतावासमा आउन अनुरोध गरिएको छ ।
जापानमा रहेका नेपालीले अब जापानबाटै विद्युतीय राहदानी (ई-पासपोर्ट) प्राप्त गर्नसक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिनसक्ने छन् भने नेपालबाट छपाइ गरी जापानमै राहदानी पठाइनेछ ।
समय लिने फाराम भरेपछि आवश्यक कागजातसमेत अनलाइनमार्फत नै पठाउन सकिनेछ । विभागका अधिकृतले रुजु गरेपछि ‘लाइभ इनरोलमेन्ट’का लागि समय दिइनेछ ।
तोकिएको समयमा जापानस्थित दूतावासको कार्यालयमा ‘लाइभ इनरोलमेन्ट’मा उपस्थित भएर विद्युतीय हस्ताक्षर,फोटो तथा औँठाछाप उपलब्ध गराउनु पर्नेछ ।
विभागमा विवरण आएपछि विद्युतीय राहदानी छपाइ गरिन्छ र जापानस्थित सम्बन्धित नागरिकलाई उपलब्ध गराइन्छ ।
नेपाल सरकारले गत मसिरबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गरेको थियो । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउने राहदानी विभागले जनाएको थियो ।







