
काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।
विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ ।
कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।
प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो ।
जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १७ जनाको टोली लिएर जहाज पोखरा जान लागेको थियो ।
अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।