दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हानेको टापु पुनः सञ्चालनमा ल्याउँदै अमेरिका

-


     जनहित न्युज    
     पौष ८ गते २०८०


दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो ।

अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । टिनियन टापुमा रहेको उत्तरी एयरफिल्डलाई सन् १९४६ मा अमेरिकी सेनाले त्यागेपछि त्यो क्षेत्र हाल जंगल बनेको छ । जंगल फँडानी गर्ने काम पूरा भएपछि एयरफिल्डमा विस्तृत सुविधा थपिने कमान्डर विल्सबाकले बताए ।

आउँदा केही महिनामा उत्तरी टिनियनमा धेरै काम भइसक्ने र त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुविधा थपिने उनले बताएका छन् ।

अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सले यो विषय पुष्टि गरेको सीएनएनले जनाएको छ ।

टिनियन टापु उत्तरी मारियाना टापुसँगै कमनवेल्थ–राष्ट्रमण्डलको हिस्सा हो । प्रशान्त महासागरमा अमेरिकाकै भूमिका रूपमा रहेको यो क्षेत्र हवाई राज्यबाट करिब ६ हजार किलोमिटर पश्चिममा छ । करिब ६२ वर्गकिलोमिटर यो क्षेत्रमा तीन हजारजति मानिसको बसोबास छ ।

साइपान र गुआमनजिकैको टिनियन टापुमा अमेरिकी हवाई अपरेसनको व्यापक इतिहास छ ।

दोस्रो विश्वयुद्धका बेला जापानबाट यी टापु कब्जा गरेपछि जापानमै विनाशकारी बमवर्षा गराउन अमेरिकाले प्रयोग गरेको थियो । इतिहासकै सबैभन्दा घातक बम आक्रमण १९४५ मार्च १० मा अमेरिकाले यी तीनै टापुबाट बी–२९ बमवर्षकबाट गराएको थियो । उक्त आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । दशौँ लाख मानिस घाइते भएका थिए ।

१९४५ मा जापानमा निरन्तर बम आक्रमण गरिरहँदा टिनियानमा रहेको नर्थफिल्ड विश्वकै व्यस्त विमानस्थल बनेको थियो । त्यहाँ करिब २४ सय मिटर लामा चार धावनमार्ग थिए ।

सन् १९४५ कै अगस्ट ६ मा हिरोसिमामा र त्यसको तीन दिनपछि नागासाकीमा खसालिएका पमारणु बम यिनै धावनमार्गबाट बी–२९ बमवर्षक एनोला गे र बक्सकारले बोकेर उडान भरेका थिए । सीएनएनबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?