गलकोट नगरपालिका वडा नम्वर ३ को तल्लोलमाईमा आज दिउसोको समयमा एक घर तोडफोड गरि चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ निवासी खिमा अधिकारीको घर तोडफोड गरि चोरी भएको हो ।
विहान करिव पौने १० बजे अध्यापन गर्न नजिकैको जय सन्तोषि माँ प्राथमिक विद्यालय जानुभएकी खिमा अधिकारीको घरमा करिव २ बजेर ५६ मिनेट जादा छिमेकीले घरको ढोका खुल्ला रहेको देखेपछि चोरी भएको भन्दै अधिकारीलाई खवर गरेका थिए ।
अधिकारी घरमा पुगेर हेर्दा तोडफोड गरि चोरी भएको देखेपछि भन्दै प्रहरी चौकी हटियामा जानकारी गराउनुभएको थियो । घटनास्थलको अवस्था अवलोकन गर्ने क्रममाा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।
घटना भएको जानकारी पाएको करिब २ घण्टामै गलकोट नगरपालिका वडा नम्वर १ को झाक्रिस्थानबाट केही सुन सहित २६ वर्षिय एक जना पुरुषलाई पक्राउ गरेको प्रहरी चौकी हटियाका प्रहरी नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिनुभयो ।
घटना भएको २ घण्टामै सुनको मंगलसुत्र, केही सुनका टुक्रा, केही नेपाली र केही बिदेशी पैसा सहित गलकोट नगरपालिका वडा नम्वर ३ कै २६ बर्षिय बाबुराम बिक लाई झाक्रिस्थानबाट पक्राउ गरेका छौं, पुरीले भन्नुभयो, नगद तथा सुनको विवरणबारे पुष्टी गरि थप अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
चोरी गरि काठमाण्डौं जान लागेका बिकलाई हटिया प्रहरी चौकीमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घरमा आफ्नो छोराले राख्न दिएको केही पुरानो बिदेशी पैसा र नेपाली नगद सहित २ तोला बढि सुन चोरी भएको अधिकारीले जानकारी दिनुभयो ।
गलकोटमा पछिल्लो समय चोरीका घटना दिनप्रतिदिन बढिरहदाँ स्थानीय त्रसित भएका छन् । केही चोरी भएका घटनाका अभियुक्त पक्राउ नभएको आरोप भोगिरहेको प्रहरीले आज भने सुनका गहना सहित पक्राउ गर्न सफल भएको बताएको छ ।