
धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ।
प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने १७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।
काठमाडौंबाट पोखरा हुँदै बेनी, बागलुङ तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरामा सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा ६ जना पुरुष र २ जना महिला रहेका छन्।
उनीहरूको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा अहिले उद्धार कार्य जारी छ। उद्धारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र ट्राफिक प्रहरी खटिएका छन्। बसबाट आठ जनालाई उद्धार गरि नजिकको अस्पताल पठाइएको डिएसपी जैसवालले बताए।
उनका अनुसार बस अनियन्त्रित भएर सडकबाट खसेको थियो। बसका चालक÷सहचालक को हुन् र बसमा कति जना यात्रु थिए भन्ने बारे अहिलेसम्म यकिन भएको छैन। बसको आधा भाग पानीमा डुबेकाले त्यहाँ केही यात्रु च्यापिएको हुनसक्ने र केही उछिट्टिएर नदीमा बगेको हुनसक्ने आशंका गरिएको छ।
‘बसमा २५ देखि ३० जनासम्म सवार रहेको अनुमान गरिएको छ,’ डीएसपी जैसवालले भने, ‘हामी सबै विवरण लिने प्रयास गरिरहेका छौँ।’
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार मृतकको संख्या बढ्न सक्ने बताए। ‘बसमा कति यात्रु सवार थिए, खुलेको छैन,’ उनले भने, ‘हामी सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ।’
उनले दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लागने बताए। ‘बस नदीमा डुबेको छ। कतिपयलाई बाढीले बगाएको पनि हुनसक्छ। कतिपय घाइते आफैँ हिँडेर अस्पताल पनि जानु भएको छ। हामी यो सबै विवरण लिँदै छौँ,’ न्यौपानेले भने।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।