कोरोना संक्रमितलाई तत्काल स्वास्थ्य सेवा प्रदान गर्न जापानमा अक्सिजन स्टेशनको स्थापना

-


     जनहित न्युज    
     भाद्र ७ गते २०७८


कोरोना संक्रमितका गम्भिर बिरामीहरुको संख्या जापानको टोकियोमा वृद्धि हुदै जान थालेपछि टोकियो महानगरपालिकाले बिरामीहरुलाई पूरक रुपमा छिटो स्वास्थ्य सेवा प्रदान गर्नका लागि सिवुयामा सोमबारदेखि संचालनमा आउने गरी अक्सिजन स्टेशनको स्थापना गरेको छ ।
चौबिसै घण्टा संचालनमा आउने गरी २ देखि ३ जना डाक्टर, २५ जना नर्स र बिरामीको सघन रुपमा हेरचाह गर्नका लागि आवश्यक कर्मचारीहरु रहने गरी सो अक्सिजन स्टेशनबाट स्वास्थ्य सेवा प्रदान गरिने जापानका संचार माध्यमहरुले जनाएका छन् ।
कोरोनाको संक्रमणका लक्षण देखा परेपछि घरमै रहेर आवश्यक स्वास्थ्य लाभ गरिरहेका बिरामीहरुको स्वास्थ्य अवस्था बिग्रदै गई थप समस्या महशुस गरेमा एम्बुलेन्समार्फत अक्सिजन स्टेशनमा जान सकिने र त्यहाँबाट आवश्यक सेवा लिन सकिने अधिकारीहरुले बताएका छन ।
अक्सिजन स्टेशनबाट बिरामीको अवस्थामा सुधार नआएमा डाक्टरहरुले अस्पतालका लागि सिफारिस गर्ने समेत व्यवस्था गरिएको उल्लेख गरिएको छ । अक्सिजन स्टेशनको स्वास्थ्योपचारबाट स्वास्थ्यमा सुधार आएमा संक्रमित बिरामीलाई घरमा फर्काइने व्यवस्था मिलाईएको छ ।
जापानमा दैनिक २५ हजार माथि र राजधानी टोकियोमा दैनिक ५ हजार भन्दाबढ़ी कोरोना संक्रमितका बिरामी थपिदै जादा पनि संक्रमितहरुले अस्पतालमा गएर उपचार गराउन अस्विकार गर्ने गरेको समाचार बाहिरिए सँगै यस अक्सिजन स्टेशनबाट प्रदान गर्ने सेवाले आपतकालिन अवस्थामा बिरामीलाई सहयोग पुग्ने र सार्वजनिक स्वास्थ्य केन्द्रमा कामको बोझ घट्ने विश्वास अधिकारीहरुले लिएका छन् ।
यस्तै सेवा प्रदान गर्ने गरि अन्य दुई स्थानमा ४०० बेड सहितका अक्सिजन स्टेशनसंचालनमा ल्याउने तयारीमा सरकार रहेको बताइएको छ । आइतबारसम्ममा ३९ हजार संक्रमितहरु घरमै स्वास्थ्य लाभ गरिरहेका र उनीहरुले अस्पतालमा भर्ना वा घरमै सुविधायुक्त थप उपचारका लागि स्वास्थ्य अधिकारीहरुको निर्णयलाई पर्खिरहेको बताइएको छ ।
स्रोतका अनुसार संक्रमणबाट गम्भिर स्वास्थ्य अवस्था भएका ८४५ अस्पतालमा भर्ना भएका केसमध्यमा १५९ बिरामीलाई अस्पताल पुग्न ३ देखि ५ घण्टाको समय लागेको १२१ बिरामीलाई त्यो भंदाबढ़ी समय लाग्ने गरेको छ ।
जापानमा सोमबार मात्र १६ हजार ८४१ नयाँ कोरोनाका संक्रमित थपिएका छन् । भने टोकियोमा मात्र २४४७ जना थपिएका हुन् । गत सातदिन यता टोकियोमा औषतमा ४६५९ जना नयाँ बिरामी थपिएको बताइएको छ । सोमबार मात्र जापानमा ३२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । १८९८ जना गम्भिर बिरामीको उपचार भैरहेको छ ।जापानमा हालसम्ममा दुई डोजको खोप ४० प्रतिशतभन्दा बढि नागरिकलाई प्रदान गरिसकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?