गैर आवासीय नेपाली संघ (एनआरएनए)  ‘फेरि विभाजन’

-


     जनहित न्युज    
     कार्तिक ४ गते २०८०


गैर आवासीय नेपाली संघ (एनआरएनए)  फेरि विभाजन भएको छ । बद्री केसी पक्षले एकपक्षीयरूपमा कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणा गरेपछि औपचारिक रूपमै विभाजित भएको हो ।

बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भयो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने बताए ।

केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको शर्मा पक्षले जनाएको छ ।

यता गैरआवासीय नेपाली संघ (एनआरएनए) मा वैधानिक रूपमा आफू निर्वाचित भएको भन्दै अध्यक्ष बद्री केसीले पदबहाली गरेका छन्।

काठमाडौंमा जारी ११ औँ महाधिवेशनबाट आफू सम्पूर्ण प्रक्रिया पुरा गरि मतदाताबाट निर्वाचित अध्यक्ष रहेको बताउदै केसीसहित पदाधिकारीले शनिबार संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्।

निर्वाचन परिणाम घोषणापछी देखिएको समस्या समाधानका लागि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भएको थियो । अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेका श्रेष्ठले सपथले अविश्वास थप बढाएको बताए । ‘तीन जना अधयक्षले स्थगित गरेको प्रक्रिया सुचारु नगरी सपथ लिनु कानुनी विपरित छ’ छानबिनबाट आउने निष्कर्ष स्वीकार गर्न तयार रहको भन्दै उनले भने, हतार हतार सपथले झन अविश्वास पैदा भयो ।

यसअघि नै एउटा ठूलो समूह एनआरएनए भन्दा बाहिर रहेको भन्दै अध्यक्षका उम्मेदार श्रेष्ठले भने– एउटा ठूलो समूह यसअघि नै बाहिर छ, यसलाई पनि समेटनुपर्नेमा बहुमत पक्षलाई बाहिर राखेर सानो समूहले के गर्न खोजेको हो मैले बुझेको छैन ।’ आफु धेरै बिबाद र टुटफुट गराउने पक्षमा नरहेको भन्दै श्रेष्ठले बिनोद कुवँर पक्षलाई पनि समेटेर एकताबद्ध एनआरएनए बनाउनुपर्ने बताए ।

अर्का उम्मेदवार शर्माले पनि हतार हतार सपथ गर्नुले निर्वाचनमा धाँदली गरेको प्रमाणित भएको बताए । गैरआवासीय नेपाली संघ सबैको साझा हुनुपर्छ भन्ने आफूहरुको माग रहेको भन्दै उनले भने, ‘जबरजस्ती आफैंले स्वघोषणा गर्न पाइँदैन ।’

उपाध्यक्षका उम्मेदवार केशव पौडेलले स्पेलिङ गलत भएका कारण आफ्नो मत शुन्य देखिएको भनेर दिएको स्पष्टीकरण स्वीकार नभएको बताएका छन् । आफूलाई विजयी भएको भनेर सपथका लागि बोलाएपनि नगएको भन्दै उनले भने, ‘चुनावमा अनियमितता छ भन्ने देखिएको छ । दुधको दुध पानीको पानी छुट्याउन जरुरी छ । जबसम्म त्यो हुन्न, म कुनै पनि पद स्वीकार गर्दिन ।’

उपाध्यक्षका अर्का उम्मेदवार गंगाधर गौतमका अनुसार सम्मेलनको बाँकी बन्दसत्र सुरु गर्ने र नयाँ कमिटी घोषणा गर्ने तयारी छ । वर्तमान कार्यसमितिको दुई अध्यक्षसहित बहुमत पदाधिकारीहरु ठाउँमा रहेको भन्दै उनले अघि भने, अधिवेशनमा थाति रहेका प्रतिवेदन पास गर्न यही हलमा बस्छौं, यदि कुनै प्राविधिक कारणले दिएन भने प्रक्रियामा लगेर आधिकारिक टिम घोषणाा गर्ने र्छौं ।’

दशौं अधिवेशनमा बिबाद बढेपछि शेष घले पक्षले बेग्लै गैरआवासीय नेपाली संघ गठन गरी बाहिरिएको थियो जसको अध्यक्ष बिनोद कुवँर रहेका छन् । उनीहरुले आगामी मार्चमा अधिवेशनको तयारी गरिरहेका छन् ।

योसँगै २० बर्षअगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ तीन टुक्रा हुने अवस्थामा पुगेको छ । गत बर्ष संघबाट अलग भएको पक्षले अर्को संस्था दर्ताका लागि पहल गर्दा परराष्ट्र मन्त्रालयले दर्ता गर्न नमानेपछि सो पक्ष अदालत गएको थियो । हालै सर्वोच्च अदालतले एकभन्दा धेरै गैरआवासीय नेपाली संस्था हुनसक्ने भन्दै नयाँ संस्थालाई पनि दर्ता गरिदिन सरकारका नाममा आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?