कपनको आगलागीमा ३ जनाको मृत्यु

-


     जनहित न्युज    
     असाेज ५ गते २०७९


काठमाडौँ – काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो। कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?