सँगै सुतेका पति अर्कै महिलासँग कुरा गरेपछि पत्नीद्वारा हत्या !

-


     जनहित न्युज    
     भाद्र ५ गते २०७९


बागलुङ — ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।

२५ वर्षीय विक रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि रक्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् ।

त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको प्रहरीसँगको बयानमा बताएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।

‘खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकिएको थिएन,’ ज्ञवालीले भने, ‘पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा हत्या गरेको पत्ता लाग्यो ।’ हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।

लेख्नपढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आक्रोशित थिइन् । उनले घटना भएकै दिन पनि सँगै सुतेकै स्थानबाट अर्कै महिलासँग कुराकानी गरेको र मेला घुम्न जाने योजना बनाएको कुरा सुनेपछि राति नै हत्या गरेको बयानका क्रममा बताएकी छन् । शनिबार पक्राउ परेकी कुमारीलाई प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रहरी सामु हत्या आरोपी कुमारी बिकले दिएको बयान यस्तो छ ।

प्रहरीले विकको हत्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो। प्रहरीका अनुसार मृतक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए। विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित मदिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए। आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए। मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो। रक्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे।  

दिउँसो ८ जनाले संगै मदिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृतक विक र अर्का एक जना मात्रैे थिए। मदिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आ(आफ्नो घरतर्फ लागे।

तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने कुरा साथीहरुँंग गरेका थिए। तर उनी त्यही रातिबाट वेपत्ता थिए। प्रहरीले अनुसन्धान अगाडि बढाउँदा मृतककी श्रीमतीले विक ढोरपाटन जान्छु भनेर निस्किएको भनेर बयान दिएपछि प्रहरीले श्रीमतीतर्फ आशंका गरेन। अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृतक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।  

साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्। मृतक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो। तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो। मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो।

जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो। शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे। एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले मारेको हुनुपर्छ भनेर बयान दिएकी छिन्। साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्। २५ गते राति ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कुटपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।

मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी रगतसहितको खुकुरी बोकेर आएकी थिईन्। बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई मारिदिएँ भनेर जवाफ दिईन्। किन मारेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्। मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्‍यो। उनले सबुद लुकाउन हर मग्दुर प्रयास गरेकी थिईन्। रगतका छिटाहरु परेका भित्ता पुरै लिपपोत गरिएको थियो। सामान्य आँखाले देख्न सकिने सबै प्रमाण नष्ट गरिएको थियो। कुमारीलाई प्रहरीले पहिले नै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिएर राखेको थियो। बहिनीले सबै कुरा ओकलेपछि प्रहरीले प्रमाण जुटायो। हत्यामा प्रयोग भएको घन, खुकुरी बरामद ग¥यो। श्रीमानको मृत्युपछि पनि शोक न सुर्ता कुनै पिरलोमा नदेखिएकी कुमारीलाई केरकार गर्न थाल्यो।

कुमारीले हत्याको जे कारण बताईन्। प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति सहबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो। उनीहरुको दुई वर्षको छोरी पनि छिन्। कुमारीले प्रहरीलाई बयान दिए अनुसार विवाह भएदेखि नै तुलबहादुरले श्रीमतीलाई श्रीमतीको रुपमा दिनुपर्ने माया दिँदैनथे। कहिले भारत गएर बस्ने कहिले काठमाडौं गएर बस्ने गर्थे। त्यति मात्रै होईन संगै हुँदा पनि तँ जता सुकै जा म त फलानोलाई ल्याउँछु भन्दै विभिन्न युवतीहरुको नाम लिएर तनाव दिईरहने गर्थे। शारीरिक र मानिसक यातना दिन्थै। तेरो न दाजुभाई छन् न तेरो माइतीको धनसम्पत्ती छ। फलानी कति राम्री छे, तेरो अनुहार पनि गतिलो छैन भनेर यातना दिईरहन्थे।

२५ गते राति पनि श्रीमान श्रीमतीबीच सहवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्। त्यतिमात्रै होईन सहवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट घाँटीमा हानेर हत्या गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ। उनको रिस लामो समयदेखि आवेग विस्फोट हुँदा उनको रिस त्यतिमै मात्र थामिएन। दाउराको चिर्पटले पाँच सात पटकसम्म श्रीमानलाई प्रहार गरिन्। अनि खुकुरीले आधा घाँटी रेटेर मृत्यु भएपछि मात्रै छोडिन्। श्रीमानको हत्या गरेपछि डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर तुलबहादुरको शवबाट टाउको छिनाएर टाउको र जिउ खोलामा फ्याँकेको उनले बयानमा भनेकी छिन्।  

यो समाचार कान्तिपुर र नागरिक न्यूजको सहयोगमा तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?