“म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भन्दै किशोरीले गरिन चक्कु प्रहार

-


     जनहित न्युज    
     भाद्र ५ गते २०७९


जापानको शिबुयामा एक किशोरीले मृत्युदण्ड पाउने चाहना राखेर आफूले भेटेका दुई व्यक्तिलाई अन्धाधुन्ध रूपमा चक्कुले आक्रमण गरेको बताएकी छन ।
चक्कु आक्रमण गरि हत्या प्रयासको आशंकामा शनिबार साईतामाको तोडामा बस्ने १५ वर्षीय पक्राउ परेकी जुनियर हाईस्कूलकी ती किशोरीले “म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भनेर छुरा हानेको प्रहरीले जनाएको छ । नाबालिग भएकाले उनको नाम गोप्य राखिएको छ ।
५३ वर्षीया महिला र उनकी १९ वर्षीया छोरीमाथि शनिबार बेलुका ७ः२० बजे पछाडिबाट चक्कु प्रहार गरेकी ती किशोरीलाई मारुयामा-चो, शिबुया वार्ड, शिबुया स्टेशन नजिकैको सडकमा भान्सामा प्रयोग हुने चक्कुसंगै घटनास्थलबाटै पक्राउ गरिएको थियो ।
महानगरीय प्रहरी प्रभागले आक्रमणको समयमा बालिकाको साथमा रहेको तीनवटा साना चक्कु बरामद गरेको छ ।
चक्कु आक्रमणबाट गम्भीर चोट लागेर घाइते आमा र छोरीलाई निको हुन कम्तिमा तीन महिना लाग्ने बताईएको छ ।छोरीको ढाडमा १० सेन्टिमिटरभन्दा बढी गहिरो चोट लागेको प्रहरीले बताएको छ।
आक्रमणकारी ती किशोरीको घर वा विद्यालयमा कुनै समस्यासँग जोडिएको बारेमा अस्वीकार गरेको प्रहरीले जनाएको छ । उनी आफ्नो घरबाट आक्रमण भएको ठाउँसम्म पुगेकी थिइन् ।
एक प्रत्यक्षदर्शीले जापानी समाचार माध्यम क्योदो न्यूजलाई दिएको जानकारी अनुसार प्यान्ट र टी-सर्ट लगाएकी कालो कपाल र जवान देखिने ती किशोरीलाई प्रहरी अधिकारीले पक्राउ गर्ने समयसम्म आफ्नो वरिपरि छरिएका चक्कुहरू लिएर चुपचाप रोइरहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?