नेपाली शान्ति–प्रक्रिया सफलताको सुत्रः नेपाली मौलिक मोडेल अवलम्बन : अध्यक्ष प्रचण्ड (पूर्णपाठसहित)

-


     जनहित न्युज    
     मंसिर ५ गते २०७८


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गर्न आफू प्रतिबद्ध भएको बताएका छन्। 

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको सन्दर्भमा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानसभाबाट संविधान, सोको कार्यान्वयनका निम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरूले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ। नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भइसकेको छ।’

आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भूमिका बढेको, नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत रहेको बताएका छन् ।

संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरुले पनि आफ्नो ठाउँमा मानवअधिकार र शान्तिका लागि भूमिका निर्वाह गरिरहेको दाहालको भनाइ छ ।

‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिप्रण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयावाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,’ उनले भनेका छन् ।

‘शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरू गठन भइ कार्यरत छन्’, उनले भनेका छन्, ‘संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरूले पनि आफनो ठाउमा मानवअधिकार र शान्तिका लागि आफनो भूमिका निर्वाह गरिरहेकै छन्।’ 

उनले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर कानुन बनाइरहेको पनि बताएका छन्।

नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी संसदीय अधिवेशनमा टुङ्गोमा पुर्‍याउने गरी काम भइरहेको पनि उनले बताएका छन्। 

‘शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौँ। साथै शान्ति र महिला सम्वद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको  छ’, उनले भनेका छन्, ‘यस्तो पृष्ठभूमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौँ। आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिवद्धता पूरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?