बागलुङमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन (डिसिसिएसी)को सोमबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण दरलाई घटाउनका लागि असार १५ सम्म निषधाज्ञा जारी गरिएपनि निषेधाज्ञा केही खुकुलो पारिएको छ ।
निषेधाज्ञाको समयमा जोर विजोर प्रणलीमा निजी सवारी साधन जम्मा चार जना यात्रु सहित सञ्चालन गर्न पाइने छ भने सार्वजनीक सवारी सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै होटल, रेष्टुराँ, चिया पसल, खाजा घर, होम डेलीभरी, अनलाईन डेलीभरी दिउँसो १२ बजे सम्म मास्कको अनिवार्य प्रयोग गरि भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर मात्र सञ्चालन गर्न पाइने छ ।
यस अवधीमा बैक तथा वित्तीय संस्था, सहकारी, मनी ट्रान्र्सफर र बीमा कम्पनी बिहान ९ बजे देखि १२ बजे सम्म सञ्चालन गर्न पाइने छ । तर सहकारीले घरदैलो गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा उल्लेख गरिएको छ । उक्त अवधिमा अत्यावश्यक सेवा, निर्माण सेवा, तरकारी, फलफूल, औषधी, अक्सिजन लगायत भने निर्वाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
यस अवधीमा सिनेमा हल, जीम हल, व्युटी पार्लर, शैलुन जस्ता सेवा भने बन्द रहने छ ।
कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि गत बैशाख २१ गतेदेखि निषेधाज्ञा सुरु भएको हो । जेठ १ गते देखि पुन १५ दिन थपिएको निषेधाज्ञा पुन जेठ १५ गते जेठ २२ सम्म थप गरिएको थियो । जेठ २२ गते देखि असार १ गते सम्म जारी निषेधाज्ञा पुन असार ७ गते सम्म थप गरिएको थियो भने पुन निषेधाज्ञालाई खुकुलो पार्द असार १५ गते सम्म थप गरिएको छ ।