
तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ।
केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न पुगेका हुन्। उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन्।
अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ। देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाक’को नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन्।
अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकुले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन्।
राजधानी कब्जा गर्ने अभियानमा उनीहरु निकै सफल देखिएका छन्। विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकुले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए।उनीहरुको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान पुगेको बताइएको छ।