जापानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने बालक बागलुङ गलकोटका मामा भान्जा रहेको पुष्टि, आगामी बिहिबार अन्तिम दाहसस्कार गरिने( ठेगानासहित)

-


     जनहित न्युज    
     असार ६ गते २०७९


जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा आइतबार पानीमा डुबेर मृत्यु हुने दुई जना बालकको परिचय खुलेको छ ।
पौड़ी खेल्ने क्रममा मृत्यु हुनेमा बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ६ चारौदी जामुनडाडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौदीमा मामाघर भै बाँके ज़िल्ला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय देवेन पाण्डे रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नाताले मामा भान्जा पर्ने ती बालक आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको महानगरीय प्रहरी विभागले जनाएको छ ।
तीन महिना अघिदेखि परिवारसंगै जापानमा रहेर अध्ययन सुरु गरेका क्रिस आफ़नो बुवा खिम पाण्डे र दुई वर्ष अघिदेखि जापानमै अध्ययनरत देवेन बुवा दामोदर पाण्डे र आमा सरिता पाण्डेको साथमा टोकियोको ताचीगावा शहरमा बसदै आएका थिए ।

उनीहरु दुई जनासँग अर्का ९ वर्षीय आफन्त बालक समेत सोहि समयमा खोलामा संगै खेल्न गएको भएपनि उनी सकुशल रहेको बताईएको छ ।
घटनास्थल नजिकै बस्ने ७० वर्षका एक व्यक्तिले भने “एक बालक नदीको किनाराबाट अचानक गहिरोतिर गए र उनलाई बचाउन खोज्दा अर्का बालक पनि डुब्न पुगे” उनले भने” त्यसपछि उद्धारकर्तालाई खबर गरेपछि उनीहरू आएको एम्बुलेन्सको साइरन सुनेको थिएँ, त्यसैले नदीको किनारमा पुग्दा एउटा उद्धारकर्ता नदीमा पसेको देखेँ। त्यसपछि दुईजनाको उद्धार गरियो र अस्पतालतिर लगे ।
नदीमा पानीको सतह उद्धारकर्ताको छाती नजिक रहेको थियो।
दुर्घटना भएको क्षेत्र तामा सिटी मोनोरेलको कोशुकाइदो स्टेशनको उत्तरपूर्वमा लगभग ७०० मिटरमा अवस्थित रहेको छ। अर्का ताचिकावा शहरको नजिकै बस्ने एक ७३ वर्षीय मानिसका अनुसार डुबेको सूचना पाउना साथ लगभग १० दमकल र प्रहरी कारहरू भेला भएका थिए र धेरै गोताखोरहरू उद्धार कार्यमा संलग्न थिए ।
मृतक पाण्डे द्वयको जुन २३ तारिक बिहिबारका दिन बिहान १० बजे अन्तिम दाहसस्कार गरिने भएको छ । यसका लागि ठेगाना 190-0021 Tachikawa-shi, Hagoromo mo-cho 3-20-18 〒190-0021 東京都立川市羽衣町三丁目20番18号 JR Nanbu-sen Nishi-Kunitachi station रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?