
गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा आगामी महिना रक्तदान कार्यक्रम गर्ने भएको छ ।
आफ़नो जन्मभूमि नेपालमा शिक्षा स्वास्थ्य मानवीय सहयोगमा आर्थिक सहायता प्रदान गर्दै आएको गलकोट समाजले कर्मभूमि जापानका टोकियो, नागोया, ओसाका लगायतका शहरमा फेब्रुवरी १० तारिक भित्रमा
रक्तदान कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।
जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समितिहरूको स्थानीय ब्यवस्थापनमा सो रक्तदान कार्यक्रम गरिने महासचिव नवीन निउरेले बताए । महासचिव निउरेका अनुसार यस कार्यले जापानी नागरिकहरूले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पार्ने बिश्वास आफूहरूले लिएको बताए ।
समाजको मंगलबार बसेको छैठौ बैठकले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखेर आगामी २ महिनाभित्रमा साधारण सभा गर्ने निर्णय भएको अध्यक्ष खत्रीले जानकारी दिए । साधारण सभाका लागि उपयुक्त अवस्थालाई ख़्याल गरि अधिकतम गलकोटेको उपस्थिति गराउन प्रयत्न गरिने पनि बताईएको छ ।
समाजद्वारा यसै कार्यकालबाट संचालनमा ल्याइएको अक्षयकोषको व्यवस्थापन र संचालनका लागि आवश्यक कार्यविधि तयार गरि सोहि बमोजिम गर्ने गरि कार्य अगाडि बढाउन बैठकले निर्देशन दिएको महासचिव निउरेले बताए ।
गलकोट समाज जापानले आफ़नो कर्मक्षेत्र जापानमा रहेका गलकोटेहरूलाई संस्थामा आबध्दता हुनको लागि आग्रह गर्दै गुगल फारममार्फ़त सदस्यता आवेदन लिइरहेकोले सो आवेदनमार्फत समाजमा आबध्दता हुन समेत अनुरोध गरेको छ ।
सन२००६ सालमा स्थापना भएको गलकोट समाज जापानले आफ़नो जन्मभूमिमा आखा शिविर संचालन, आखा उपचार केन्द्रको भवन निर्माणमा सहयोग, एम्बुलेंस प्रदान, स्वागत द्वार निर्माण, बर्थिङ सेण्टरको लागि आवश्यक उपकरण प्रदान, प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिंन प्रदान, विद्यालय भवन निर्माण, विद्यार्थीहरूँलाई शैक्षिक सामग्री प्रदान लगायतका भौतिक सहयोग गरेको संरक्षक मोहन खत्रीले बताए ।
आर्थिक समस्यामा परेर उपचारको गराउन नसकेकालाई आर्थिक अभियान संचालन गरेर सहयोग, दैवीप्रकोप पिडितलाई राहत प्रदान, कोरोना महामारीको लागि स्वास्थ्य सामग्री प्रदान लगायतका विभिन्न सामाजिक कार्य गरिरहेको समाजकी वरिष्ठ उपाध्यक्ष कालिका थापाले बताइन ।



