“गलकोट”नामक वृत चित्रको प्रदर्शन सुरूवात मंगलबारदेखि जापानको नाकानो जिरो हलबाट हुने

-


     जनहित न्युज    
     असाेज ३ गते २०७९


बागलुङ ज़िल्लाको समग्र गलकोट क्षेत्रलाई संसार सामु चिनाउने हेतुले निर्माण गरिएको “गलकोट”नामक वृत चित्र जापानका विभिन्न शहरहरूमा मंगलबारदेखि प्रदर्शन हुने भएको छ ।
गलकोट क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं लोक जनजीवनका विभिन्न आयामहरुलाई समेटेर श्रब्य-दृश्यमा कैद गरिएको सो वृतचित्र सेप्टेम्बर २० तारिक अर्थात् मंगलबार जापानको राजधानी टोकियोको नाकानो जिरो हल( 164-0001
Tokyo To Nakano-ku 2 Chome-9-7
東京都中野区中野2丁目9-7 ) मा पहिलो प्रदर्शन हुन लागेको वृतचित्र निर्माता ‘युएसबी’ सेवा कम्पनीका निर्देशक आकाश युएसबी थापाले जानकारी दिए ।

ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता पक्ष झल्कने गरी तयार पारिएको ‘गलकोट’ वृत्तचित्रको दोस्रो प्रदर्शन गलकोट समाज नागोया क्षेत्रीय समितिको व्यवस्थापनमा नागोयामा तेस्रो प्रदर्शन ओशाकामा र क्रमशः अन्य शहर हुदै विश्वभर च्यारिटीको रुपमा प्रदर्शन गरिने निर्माता थापाले जानकारी दिए ।
वृत्तचित्र ८० मिनेटको वृतचित्रमा ऐतिहासिक, सांस्कृतिक एवं जैविक विविधताले भरिएको गलकोटको समग्र पक्षलाई उजागर गर्न खोजिएको छ । करिब १ वर्ष लगाएर तयार पारिएको वृत्तचित्रमा गलकोट क्षेत्रमा वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को देख्न सकिने निर्देशक थापाले बताए । गलकोटको बाह्रैमासको विविधता समेट्ने प्रयास स्वरूप दृश्य र सामग्री सङ्कलन गरेको बताऊदै उनले भने-
“वृत्तचित्रमा करिब रु ३५ लाख खर्च भएको छ यसलाई देश–विदेशमा च्यारेटी स्वरुप प्रदर्शन गर्ने सोच राखेको छु ।”
प्रदर्शनबाट बचेको पैसा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गरिनेछ । अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्षित गरी वृत्तचित्र प्रदर्शन गरिने निर्माण कम्पनीले जनाएको छ । निर्देशक थापालगायतको समूहले एक वर्षअघिदेखि वृत्तचित्र निर्माणको काम शुरु गरेको थियो ।
गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका थापा जापानमा कार्यरत हुदै गर्दा नेपालमा पुगेर वृत्तचित्र निर्माण जस्तो सिर्जनशील काममा लागेका हुन् । गलकोटलाई देश–विदेशमा चिनाउनु र पहिचान स्थापित गर्नु आफ्नो उद्देश्य रहेको थापाको भनाइ छ । वृत्तचित्रमा थापाको व्यक्तिगत लगानी छ ।
नेपालमा पर्यटन प्रर्वद्धनमा समेत वृत्तचित्रले सघाउने विश्वास लिइएको छ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा मानिन्थ्यो । बाइसे-चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएका थिए ।
जिल्लाको पुरानो सदरमुकाम पनि गलकोटमा थियो । गलकोट क्षेत्रले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेट्छ । पर्यटकीय लेक घुम्टे, गाईघाटको झरना, गलकोट दरबार, सहस्रधारा आदि गलकोटका गन्तव्यस्थल हुन् । विभिन्न जातजातिका समुदायमा प्रचलित मौलिक कला, संस्कृति र उत्पादनले पनि गलकोट धनी छ । गलकोट बागलुङ सदरमुकामदेखि ४५ किमी दूरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?