
पटक पटक जापानका लागि नियमित उडान गर्ने भनिएपनि उडान हुन नसकेको नेपाल वायुसेवा निगमको जापानका लागि उडान फेरि सेप्टेम्बर महिनामा गर्ने सूचना जारी गरेको छ ।
कोरोना महामारीका कारण जापानले नेपाली नागरिकहरूलाई सहज रूपमा जापान प्रवेशमा रोक नै लगाएको अवस्थामा चार प्रकारका भिसा हुनेहरुका लागि भने सेप्टेम्बर ९ तारिकमा काठमाण्डाै -नारिता जापान र सेप्टेम्बर १० तारिकमा नारिता काठमाण्डौ उडान गर्ने सुमेघ ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ । त्यस्तै अर्को उडान सेप्टेम्बर महिनाको २३ तारिक काठमाण्डाै -नारिता जापान र सेप्टेम्बर २४ तारिकमा नारिता काठमाण्डौ उडान गर्ने बताईएको छ ।
त्यस्तै गरेर अक्टोबरका लागि २१ तारिक २८ तारिक नेपालबाट उडान हुने र जापानबाट २२ र २९ तारिक उडान हुने पनि बताईएको छ । यसअघि अगस्ट महिनामा उडान गर्ने जानकारी गराइएपनि हुन सकेको थिएन ।
जापानको स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको व्यक्ति Permanent residence (PR), स्थायी बसोबास अनुमति पिआर अर्थात् एइज्यु भएको श्रीमान श्रीमति Permanent resident spouse, लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका व्यक्ति Long-Term resident (teizu), लामो अवधिको बसोबास अनुमति प्राप्त अर्थात् तेइज्यु भएका श्रीमान श्रीमति Long-Term resident spouse ) हरुलाई जापान प्रवेशमा अनुमति दिइने भएको छ ।
नेपाल सरकार र जापान सरकारको कोभिड- १९ को नियमालाई कडाइका साथ पालना गर्दै हवाई यात्रा गर्न पाइने भएको हो । जापान आइसकेपछि जापान सरकारले तोकिएको क्वारेंटिनमा ६ दिन र ८ दिन आफनै घरमा होम क्वारेंटिन गरी १४ दिन अनिवार्य क्वारेंटिन बस्नुपर्ने छ ।
त्यसैगरि जापानबाट काठमाण्डौ जाने नेपाली यात्रुले नेपाल सरकारले तोकिएको क्वारेंटिनमा १० दिन मात्र बसी आफ्नो गन्त्वयमा जान पाइनेछ । भ्यक्सिनको पुरा डोज लगाएका यात्रुले भने प्रमाण देखाएमा सिधै गन्तव्यमा जान पाइने छ। तर किरीया पुत्रीहरूको हकमा मृत्यु प्रमाणपत्र पेश गरेमा सिधै आफ़नो गन्तव्यमा जान सकिने बताइएको छ।
सिइओ आएको लामो समय हुदा समेत नेपाली विद्यार्थीहरु जापान आउन सकेका छैनन । त्यसका लागि कूटनीतिक पहल गरिदिनका लागि शैक्षिक परामर्श केन्द्रहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन ।
विभिन्न पेशा व्यावसाय र अध्ययनका लागि राम्रो गन्तव्य मुकुलका रुपमा हेरिएको जापानले नेपाली नागरिकहरुका लागि प्रवेशमा गरेको कडाइका कारण धेरै नेपालीहरु घर बिदामा गएर जापान फ़र्किन नपाउदा भिषा सकिनुका साथै अन्य विभिन्न समस्याहरु झेल्न बाध्य भएका छन । सहज जापान प्रवेशका लागि जापानस्थित नेपाली राजदूतावासले कूटनीतिक पहल गर्नुपर्ने धेरैको माग रहेको छ ।