प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले आइतबार संसदमा विश्वासको मत लिएका थिए । उनलाई १ सय ६५ सांसदले समर्थन जनाएसँगै संसदको आयु लम्बिएको छ । देउवाले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद संवैधानिक रूपमै विघटन हुन सक्थ्यो ।
यसअघि संवैधानिक रूपमा संसदको पूर्ण अवधि पाँच वर्ष तोकिए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘यस संविधानबमोजिम अगावै विघटन भएकोबाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ ।’
पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्न नसक्दा ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा संसद विघटन गरेका थिए । उनले गरेको विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ र २८ असारमा २०७८ मा प्रतिनिधिसभा ब्युँताएको थियो ।
देउवाले पाए संसद्को विश्वास : पक्षमा १६५ , विपक्षमा ८३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका हुन् । देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्। योसँगै देउवा नेतृत्वको सरकार सुरक्षित बनेको छ । उनको विपक्षामा ८३ मत परेको छ भने एक जना तटस्थ रहेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। उनको पक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमाले माधव नेपाल समूह र जनमोर्चा नेपालले मतदान गरेका थिए।सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।
नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका ८ सांसदहरु भने आज अनुपस्थित रहेका थिए ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेमा उनले सर्वोच्च अदालतको फैसला अनुसार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमै विश्वासको मत लिने निर्णय गरेका हुन्।
देउवालाई मत दिँदा एमालेमा तीन गुट
दुई गुट मात्र रहेको एमालेमा तेस्रो बहिष्कार गर्ने गुट पनि निस्कियो। अनि विपक्षमा रहेका भनिएका सांसदहरू पक्षमा मतदान गरे।
देउवालाई एमालेबाट माधव नेपाल समूहको २२ सांसदको मत पर्ने अनुमान थियो। एकाएक भीम रावलले राजीनामा दिएपछि संख्या २१ मा झर्यो। तर मत खस्दा २१ मध्ये ८ जनाले कतै मतै हालेनन्।
उता ओली समूह कमसेकम ९१ मत विपक्षमा पर्नेमा ढुक्क झै थियो। तर उसको अनुमान पनि फेल खायो। ओली समूहका ८ सांसद पक्षमा खुले। विपक्षमा ८३ मत मात्र पर्यो।
नेपाल समूहमा रहेका सांसदमध्ये उनी सहित विरोध खतिवडा, निरादेवी जैरु, जीवनराम श्रेष्ठ, सरला यादव, कृष्णलाल महर्जन, रामकुमार झाक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने पक्षमा मतदान गरेका थिए।
विपक्षमा मत हाल्ने आँकलन गरिएको ओली समूहका सांसद पार्वती विसंखे, कलिला खातुन, प्रेम आले, हिरा केसी, समिमा हुसेन, धनबहादुर बुढा, विनादेवी बुढाथोकी र किसान श्रेष्ठले पक्षमा मतदान गरे।
पक्षमा मतदान गर्ने अपेक्षा गरिएको नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दीपक भट्ट, झपट रावल, सोमनाथ पाण्डे राजबहादुर बुढा योगेश भट्टराई र नारायण खतिवडाले कतै मतदानै गरेनन् ।
किन दिए महन्त ठाकुरले देउवालाई विश्वासको मत ?
जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको निर्णय विपरीत सहभागी भएको ठाकुर समूहले देउवालाई विश्वासको मत दिन्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् ।
तर, अन्तिममा ठाकुर समूहले विश्वासको मत दिएर सबैलाई अचम्मित तुल्यायो । देउवाले संसदमा विश्वासको मत मागेपछि संसद बैठकलाई सम्बोधन गर्दै ठाकुरले विश्वासको मत दिने निर्णय भएको जानकारी गराएका थिए ।
‘प्रधानमन्त्रीज्यूले पत्र पठाएर विश्वासको मत माग्नु भयो । हाम्रा मुद्धाहरु सम्बोधन गर्ने अपेक्षा र आग्रहसहित विश्वासको मत दिने निर्णय गरेको हौं,’ उनले संसदलाई सम्बोधन गर्दै भने ।
स्रोतका अनुसार आफ्ना पक्षका सांसदहरु धमाधम अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा जान थालेपछि ठाकुर पक्षले बाध्य भएर देउवालाई विश्वासको मत दिएको हो । अर्कोतर्फ ठाकर समूहले देउवालाई विश्वासको मत दिएर पार्टीमा आफ्नो स्थान केही सुरक्षित गर्ने आशामा देउवालाई मत दिएको विश्लेषण हुन थालेको छ ।
देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाई
विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
देउवाले प्रतिनिधि सभामा १६५ सांसदको समर्थनसहित विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरबाट बधाई दिएका हुन् । साथै मोदीले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवासँग मिलेर दुई देशको आपसी हितको पक्षमा काम गर्न तयार रहेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् ।