
बागलुङ —थालमा खानाको सेट ल्याउँदा भातसँगै दस थरीका तरकारी, अचार र चटनीसमेत राखिएको छ । खानामा घिउ तताएर झ्वाइँ पारेपछि पाहुना दंग । सडकछेउका जुनसुकै होटलमा छिरेपनि मूल्य त उत्तिकै पर्छ ।
तर यहाँको अर्गानिक र यतिधेरै मेहेनत गरेर बनाएको खानाको सेटमा पनि समान मूल्य छ । बागलुङ नगरपालिका-२ मा रहेको आरती भान्छामा छिरेका मानिस अर्गानिक खानाको स्वादले सन्तुष्ट भएर निस्किन्छन् । साथीभाईलाई पनि त्यहीं जान सुझाव दिन्छन् ।
यहाँ पुग्दा खानाको अर्गानिक स्वाद पाइन्छ । होटल भएपनि उनको खानाको परिकारमा अधिकांश अर्गानिक र गाउँमा उत्पादन भएको मात्रै भेटिन्छ । चामल, दाल, गेडागुडी, टिमुर, मुला, आलु, घिउ देखि तेलसम्म स्थानीय प्रयोग गर्छिन् । मकैभट्ट, खुर्सानी, भागो त झनै अर्गानिक हुने नै भयो । रोटीका लागि गहुँ र जौं समेत गाउँघरमा उत्पादन भएको आइपुग्छ ।
खान बसेपछि लोकल घिउ झ्वाइँ पारेर खान पाउँदा पाहुनाको मन त्यसै रमाउँछ । ‘अन्यत्र भए घिउ राखेर खाँदा स्वास्थ्य समस्या हुन्थ्यो, त्यहाँ पुग्दा अर्गानिक स्वादले फेरि त्यही जाउँ भन्ने भयो,’ काठमाडौँबाट घुम्न आएका अर्पण शर्माले भने, ‘बजारिया खाँदा दिक्क भएकाहरुलाई यो भान्साघर मनै लोभ्याउने रहेछ ।’ उनले पटक-पटक घुम्न र काम विशेषले आउँदा यहीं खाना खाएको बताए ।
अर्गानिक खाना खुवाउने ताराखोला गाउँपालिका-३ हिल गाउँका डिलबहादुर बस्नेत हुन् । बस्नेतले अर्गानिक खाना पस्कन थालेको ४३ वर्ष भयो । उनको घर सदरमुकामदेखि एक दिनको पैदल यात्रामा मात्रै पुगिन्छ । अहिले पनि पुर्ख्यौली थलो पुग्न ६० किमी सवारी चढेर गएपछि फेरि दुई घण्टाको उकालो चढ्नुपर्छ ।
त्यही गाउँबाट थालेको अर्गानिक खाना खुवाउने यात्रा सदरमुकाममा आएर स्थायी भएको पनि २५ वर्ष भइसक्यो । सदरमुकाम झरेपछिको भान्छा भने कान्छी छोरी कबिताले धानेकी छिन् । सदरमुकाम झरेरपनि खानाको गुणस्तर घटेको छैन ।
गाउँका धेरै युवा विदेश हानिएका छन् । हिल गाउँ त रित्तो जस्तै भइसक्यो । तर कबिताले बिदेश जाने मोह राखिनन् । बरु बाबुले थालेको पेशालाई नियमित गरेर बसेकी छिन् । भन्छिन्,‘सबैको माया पाएकोले काम गर्ने हौसला मिलेको छ ।’
यहाँ ४३ वर्ष अघि खाना खानेले अहिलेसम्म एकै प्रकारको स्वाद पाएको बताउँछन् । ‘मैले गलकोटदेखि यहाँ सम्म नियमित खाना खाएको छु, अर्गानिक स्वाद छ,’ गलकोट नगरपालिका-५ का फमलाल निउरेले भने, ‘राम्रो पहिचान बचाएर राख्नुभएको छ ।’ २०३८ सालमा दुनोट र चिया बेचेर शुरु गरेको व्यवसाय अहिले पनि बागलुङको मिठो खानाको केन्द्रको रुपमा चिनिन्छ ।
२०३८ सालमा यहाँको घुस्मेलीमा ठूली एकादशीको दिन तोरण तार्ने कार्यक्रममा अस्थायी चिया पसल बाट थालेको व्यवसाय अहिलेसम्म अर्गानिक खानाको रुपमा चिनिएको हो । ताराखोला गाउँपालिका भित्र अहिले पनि युरिया लगायतको बिकासे मल भित्रन पाएको छैन ।
तरकारी लगायतको उत्पादनमा विषादी प्रयोग छैन । जसका कारण ताराखाोलको उत्पादन भनेपछि बजारमा सहजै बिक्री हुन्छ । यहाँको आलु, भांगो, बोडी, मुला र च्याउ समेत बजारमा उपभोक्ताले खोजीखोजी खान्छन् । त्यही ब्राण्डलाई उनीहरुले होटलमा उपयोग गरेका छन् ।
‘बजारको किनेर खाने हो भने त जता गएपनि हुन्छ,’ कबिताले भनिन्,‘बुबाले गाउँबाट पठाएको सामान मात्रै हामीले यहाँ पकाएर खुवाउने हो, नुन र स्थानीयमा मिसाउने गरी केही चामल किन्छौं ।’ तेल गाउँकोले नपुग्दा किन्नुपरेको उनले बताइन् ।
खसी र कुखुरा समेत उनीहरुले गाउँबाटै ल्याउँछन् । पनिरको परिकार स्थानीय दुध सहकारीमा उत्पादन हुन्छ । जसका कारण पाहुनालाई अर्गानिकको स्वाद मिलेको हो । त्यसो त उनीहरु राजमार्गमा बसेझै दैनिक सयौं मानिसलाई खाना खुवाउने होइनन् । सदरमुकामको भाडामा लिएको घरको पाँचौ तलामा उनीहरुको भान्सा संचालित छ ।
‘यहाँको स्वाद थाहा पाएकै कारण खोजेर पुग्ने हो’ काठमाडौँ धापासीका सुर्दशन थापाले भने, ‘एक पटक खाएको स्वादले पटक पटक यहाँ ल्याएको छ ।’ समूहमा घुम्न आउने बिद्यार्थी, आमा समूह र युवाहरुलाई उक्त होटलको ठेगाना दिएर पठाएको उनले बताए ।
खानामा नुन र चिल्लोलाई ख्याल गर्नुपर्छ भन्छिन् कबिता । ‘नुन चर्को, धेरै चिल्लो बनायौं भने पाहुनाले मन पराउँदैनन्,’ बस्नेतले भनिन्, ‘चटनीहरु अर्गानिक हुनुपर्छ ।’ टिमुर, भांगो र तिल लगायतको ग्रामीण क्षेत्रमा उत्पादित चटनीले धेरैको मन तान्ने गरेको उनले बताइन् । त्यसो त उनले खाना बनाएर बेचिरहने पनि होइनन् ।
पाहुना आएको थाहा पाएपछि मात्र उनले खाना बसाल्छिन् । हातमुख धुने, आराम गर्ने र पानी पिउने समयमा खाना पकाएर खुवाउने गरेको उनले अनुभव सुनाइन् । ‘थकाली खानाझैँ जुन सुकै बेला पुग्दापनि तात्तातो खान पाइन्छ,’ स्थानीय जयराम भारीले भने, ‘दर्जनौं होटलमा आरतीको पहिचान बेग्लै छ ।’ छतमा बसेर खान पाइने भएपछि कतिपय पर्यटकले बागलुङ बजार हेर्ने लोभले पनि यहाँ पुग्ने गरेका छन् ।
होटलबाट धेरै फाइदा भने नभएको बस्नेत परिवारको अनुभव छ । तर जिल्लाको गलकोट र ताराखोला क्षेत्रका मानिस नियमित आएर खाने, पाहुनाले पनि अर्गानिक खोज्दा दिन सक्ने कारणले धेरैले नछाड्न सुझाएपछि बाबुआमाले गाउँमा उत्पादन गरेको तरकारी पठाउने, छोरी कबिता र अम्बिकाले बजारमा होटल चलाउने गरेका हुन् ।
छोरीहरुलाई सघाउन बलबहादुर भने सातामा एकपटक आउने जाने गरिरहन्छन् । ३ जना कामदार राखेका छन् । फुर्सदको समय उनीहरुले पनि मुलाको अचार राख्ने र मिठो स्वागदकालागि नयाँनयाँ अचार, चटनी र तरकारीको परिकार बनाउने गरिरहन्छन् ।
माछा समेत उनीहरुले बजारका किन्दैनन् । गलकोट स्थित दरमखोलाका असला मगाएर मात्र पाहुनालाई पस्कने गरेका छन् । यी सबै कारणले अहिलेपनि आरती होटल अर्गानिक खानाको गन्तव्य बनेको छ ।(कान्तिपुरमा प्रकाशित सामग्री हुबहु साभार गरिएको हो । )



