अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन

-


     जनहित न्युज    
     फागुन ६ गते २०७८


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए।

‘नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तरराष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्छ’, उनले भने, ‘तर यो शर्तरहित  नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।’

हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए। उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?