
टोकियो।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो कार्यकालको सुरुवाती केही महिना सफलतापूर्वक पूरा गरेकी छन्। विशेष डाइट (जापानी संसद) अधिवेशनको समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो सरकारका उपलब्धि, आन्तरिक लक्ष्य र वैदेशिक नीतिका प्राथमिकताहरू स्पष्ट पारेकी छन्।
विशेष गरी चीनसँगको सम्बन्ध र ताइवान मामिलामा उनले राखेका धारणालाई लिएर अहिले अन्तर्राष्ट्रिय कूटनीतिमा चर्चा सुरु भएको छ।
ताइवान मामिलामा स्पष्टीकरण
ताइवानमा हुन सक्ने सम्भावित आपत्कालीन अवस्थाले जापानको अस्तित्वलाई नै खतरामा पार्न सक्ने भनी यसअघि उनले दिएको अभिव्यक्तिको प्रधानमन्त्री ताकाइचीले पुनः बचाउ गरेकी छन्। उनले भनिन्, “यो अभिव्यक्तिले सरकारको पुरानो अडानमा कुनै परिवर्तन आएको सङ्केत गर्दैन।” यस विषयमा बेइजिङ र विश्व समुदायलाई विभिन्न तहमा निरन्तर स्पष्ट पार्ने उनले बताइन्।
चीनलाई एक महत्त्वपूर्ण छिमेकी राष्ट्रको रूपमा चित्रण गर्दै उनले भनिन्, “हामीबीच रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्नु आवश्यक छ। अर्कोतर्फ, आर्थिक सुरक्षासहित केही सुरक्षा चिन्ताहरू पनि छन्। हामी स्पष्ट संवादका माध्यमबाट रणनीतिक र पारस्परिक हितका सम्बन्धहरूलाई व्यापक रूपमा अघि बढाउन चाहन्छौं।”
प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गर्दै कडा प्रतिक्रिया दिएको थियो। तर, प्रधानमन्त्री ताकाइचीले जापान संवादका लागि सधैं खुला रहेको र राष्ट्रिय हितका आधारमा उचित प्रतिक्रिया दिने स्पष्ट पारिन्।
पूरक बजेट र बलियो अर्थतन्त्रको प्रतिबद्धता
प्रधानमन्त्री ताकाइचीले मंगलबार पारित भएको पूरक बजेटलाई आफ्नो सरकारको ठूलो सफलताको रूपमा व्याख्या गरिन्। उनले भनिन्, “यो बजेट पारित गरेर हामीले जनतासँग गरेको वाचा पूरा गरेका छौं। यसले बलियो अर्थतन्त्र, सुदृढ कूटनीति र सुरक्षातर्फको हाम्रो दिशालाई प्रमाणित गरेको छ।”
तत्काल चुनावको सम्भावना अस्वीकार
सञ्चारकर्मीहरूले संसद् विघटन र मध्यावधि निर्वाचन (Snap Election) बारे सोधेको प्रश्नमा प्रधानमन्त्रीले हाल त्यसबारे सोच्ने समय नभएको बताइन्। आगामी आर्थिक वर्षको बजेट निर्माण र कर संशोधन लगायतका धेरै महत्त्वपूर्ण कामहरू बाँकी रहेकाले सरकार पूर्ण रूपमा ती कार्यमा केन्द्रित रहने उनको भनाइ थियो।



