पूर्वमन्त्री तथा एमाले नेता यादव पक्राउ

-


     जनहित न्युज    
     श्रावण १ गते २०८०


नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो।

२०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए।

लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?