
बागलुङ, गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका नौ वर्षीय बालकले आफनो जन्मदिनको अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।
सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका सुपुत्र बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । कोभिड १९ ओमिक्रोन विश्व व्यापी रुपमा फैलिएकोले केहि दिन देखि विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यार्थीलाई विद्यालयमा आमन्त्रण गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले बताए ।

प्रवासमा रहेका थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीको भविष्यको लागि परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बिनम्र थापाले बताए ।
विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले शैक्षिक सामाग्री वितरण गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स सहित शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
जन्मदिनको अवसर पारेर थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी कक्षा ७ का समिर चोखाल, समिता विश्वकर्मा, कक्षा ६ का सुवास थापा, कक्षा ४ का विवेक विश्वकर्मा, कक्षा ३ का सुवास केसी, कक्षा युकेजीका शिवान्या थापा, अश्मी विश्वकर्मा र कक्षा एलकेजीका प्रवेश परियारलाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिए ।
शैक्षिक सामाग्री सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले विद्यालयमा पुगेर विद्यार्थीलाई हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै अध्यक्ष थापाले विद्यार्थीहरुलाई आगामी दिनमा शैक्षिक गुणस्तर प्रभावकारी बनाउन अनुरोध गरेका थिए प्रवासबाट सानो बाबुले गरेको यो परोपकारी कामको उनले प्रशंसा समेत गरे । यस्ता उदाहरणीय कार्यले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उनले बताए।
शैक्षिक सामाग्री सहयोगी थापाका बुवा दुर्गा बहादुर थापा विद्यालयका सहयोगदाता समेत हुन । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा लामो समय देखि कर्म गरिरहेका थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरुमा आर्थिक सहयोग गर्दै आइरहेका छन । कार्यक्रममा प्रगति आधारभुत विद्यालयका शिक्षकहरूको उपस्थिती रहेको थियो ।



