सरकारले बुधबारदेखि इ-पासपोर्ट जारी गर्ने, एमआरपी विस्थापन गर्ने तयारी

-


     जनहित न्युज    
     मंसिर १ गते २०७८


काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए। त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ। शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने राहदानी विभागले जनाएको छ ।

महानिर्देशक अर्यालका अनुसार ई पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। 

त्यसैगरी ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको अर्यालले जानकारी दिए। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा राखिएको छ। 

पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। अरू प्रकारका पासपोर्ट आगामी जनवरीदेखि मात्रै जारी हुने अर्यालले बताए। विभागले सुरुका केही दिन सीमित मात्रै ई–पासपोर्ट वितरण गर्ने तयारी गरेको छ।

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउने अर्यालले बताए। 

विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।

के हो ई-पासपोर्ट?
ई-पासपोर्टमा माइक्रो चिप्स हुन्छ। चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन।

मेसिनले पासपोर्ट धनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने अर्यालले बताए। अर्यालका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ। 

उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग भएपछि त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे मेसिनले रोकिदिन्छ। त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुने अर्यालले बताए।

सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?