
संसारभर फैलिएका नेपालीलाई एकै मालामा उन्ने उद्देश्य लिएको ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) विगत २ वर्षदेखी अस्तब्यस्त छ । वितेको २ वर्ष विर्सन लायक बनेको एनआरएनएलाई फेरी पुरानै विरासतमा फर्काउने कोशिश भैरहेको छ ।
झण्डै १ महिनापछि हुने घोषणा गरिएको महाधिवेशनले संस्थालाई फेरी ठिकठाक बनाउने एनआरएनए अभियन्ताहरुको दाबी छ । वितेका २ वर्षमा एनआरएनए २ वटा बन्यो । ४ जना अध्यक्ष भए । राम्रो विरासत भएको संस्था लथालिङ्ग बन्यो । यसभन्दा बढी बिग्रन दिन नहुने भन्दै फेरी एनआरएनए अगुवाहरु जुर्मुराएका छन् ।
र, अब भने यसपाली नियमित महाधिवेशनबाट सहि बाटोमा एनआरएनएलाई हिडाउँने भनिएको छ । आउँदो अक्टोबर १७-१९ तारिख (असोज ३०- कात्तिक २ गते) सम्म काठमाडौंमा एनआरएनएको ११ औं महाधिवेशन हुने घोषणा भएको छ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशन आउन झण्डै १ महिना बाँकी रहंदा चुनावी सरगर्मी भने ह्वातै बढेको छ ।
महाधिवेशनको लागि करिव ४२ सय प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको छ । यसपाली अनलाइन मतदान हुने भनेर एनआरएनएले घोषणा गरि सकेको छ । संस्थाको नेतृत्वदेखी लिएर पदाधिकारीका २ दर्जन बढ़ी विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्दै नेपालका राजनीतिक पार्टीका नेतालाई भेटेर आर्शिवाद लिने देखी लिएर सामाजिक सन्जालका भित्ताहरु रंगाई रहेका छन् ।
अघिल्लो पाली (२०२१-२३) कार्यकालमा एनआरएनएका पन्जिकृत सदस्य १ लाख ६ हज़ार थिए । तर, बिवादकै कारण यसपाली भने करिव ९६ हज़ार मात्रै सदस्य बने । ८० देशमा एनआरएनएको सम्पर्क भएको भनिएपनि यसपाली ५७ देशमा मात्रै औपचारिक अधिवेशन भए । एनआरएनएप्रति परदेशमा रहेका आम नेपालीहरुको चासो घट्दै गएपनि संस्थामा पुगेर अनेक काम गर्छु भन्नेहरुको संख्या भने ह्वात्तै बढ्दै गएको छ ।
‘एनआरएनएको महाधिवेशन घोषणा भएसंगै चुनावी चर्चा परिचर्चा पछिल्लो दिनमा धेरै बढिरहेको छ’, कतारमा बस्ने पत्रकार तथा एनआरएनएकर्मी सन्तोष क्षत्री भन्छन ‘विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने तथा मत माग्नेहरु फोनदेखी सन्जालसम्म फैलिरहेका छन् ।’
एनआरएनए नेतृत्वका लागि ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । आगामी कार्यकाल (२०२३-२५)को लागि वर्तमान अध्यक्ष डा.बद्री केसी फेरी दोहोरिने दाउमा छन् भने उपाध्यक्षद्वय राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अध्यक्षमा उठ्ने घोषणा गरेर अभियानमा होमिएका छन् ।
३ जना नै बलिया प्रतिस्पर्धी भएकाले कडा टक्कर पर्ने एनआरएनएकर्मीहरु बताउँछन् । अध्यक्ष पदमा अरुको पनि उम्मेदवारी पर्ने सम्भावना रहेपनि रसिया बस्ने के.सी, कतारका शर्मा, जापानका श्रेष्ठविच कडा प्रतिस्पर्धा हुने बताइन्छ । राजनीतिक रुपमा पनि ३ जनाको मार्ग अलग छ । एमाले नजिक के.सी रहेका छन् भने शर्मालाई माओवादी निकट भनिन्छ र श्रेष्ठको संलग्नता कांग्रेससंग छ ।
परदेशमा रहेका राजनीतिक पार्टी निकटका प्रवासी संगठनहरुले खुल्ला रुपमा सहयोग गरेका छन् । केसीलाई एमाले निकटको प्रवासी नेपाली मन्च, शर्मालाई नेपाली जनप्रगतिशील मन्च र श्रेष्ठलाई नेपाली जनसम्पर्क समितिले अघि सारेका हुन् । नेतृत्व दाबी गरेका अध्यक्षका उम्मेदवारहरुले आआफ्नो प्यानल बनाएर चुनावी अभियानमा होमिने तयारीमा जुटेका छन् । ३ समुहले काठमान्डौंमा प्यानलै बनाएर घोषणा गर्ने तयारी गरेका छन् ।
कांग्रेस र माओवादी गठबन्धन सरकारमा समेत भएकाले अन्तिममा मिलेरै चुनावमा जाने धेरै सम्भावना रहेको धेरैको बुझाई छ । खाड़ीबाट हालसम्म पनि एनआरएनए नेतृत्वमा नपुगेकाले यसपाली शर्माको बलियो सम्भावना देखिन्छ । ‘शर्मा प्रधानमन्त्री प्रचण्ड नजिक भएकाले कांग्रेसलाई मनाएर गठबन्धनबाट एक प्यानल बनाएर जाने धेरै सम्भावना छ ।’ माओवादी निकट नेपाली जनप्रगतिशील मन्चका एक नेता भन्छन ।
वर्तमान अध्यक्ष के.सीले पहिला संस्था जोगाउन भनेर ३ जना अध्यक्ष बनाइएको भन्दै अब काम गर्नको लागि अध्यक्ष पदमा उठ्न लागेको बताउँछन् । एनआरएनए अभियानमा शुरुबाटै लागेकाले सम्झने गरी काम गर्नको लागि यसपाली अघि सरेको भनाई छ ।
अध्यक्षका प्रतिस्पर्धी आरके शर्माले सबैलाई मिलाएर एनआरएनएलाई बलियो संस्था बनाउनको लागि खाडीको नेपाली यसपाली नेतृत्वमा पुग्नु पर्ने आवश्यकता औंल्याए । ‘एनआरएनएलाई मिलाएर लैजानु पर्ने आवश्यकता छ जसको लागि म उपयुक्त पात्र हुँ, परदेशका श्रमजीवीका समस्या समाधानको लागि खाडीमा बस्ने नेपाली यसपाली नेतृत्वमा पुग्नु पर्छ ।’ शर्माले भने ।
अध्यक्षका अर्का आकांक्षी श्रेष्ठले एनआरएनएबाट उदाहरणीय काम गर्नको लागि आफु नेतृत्वमा आउन खोजेको बताए । एनआरएनएलाई गर्बिलो बनाउने गरी काम गर्ने उनको धारणा छ ।
एनआरएनएको अध्यक्ष सहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, आधा दर्जन जति सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, युवा, महिला संयोजक तथा विभिन्न महादेशका संयोजक तथा उप संयोजक गरी झण्डै २ दर्जन बढ़ी पदमा सयजना भन्दा बढीले उम्मेदवारी दिने भनेर सन्जालमा घोषणा गरेका छन् ।