बागलुङ-दुई वर्षदेखि बिस्तारामा थलिनुभएको छ, गुमा परियार । पक्षघातले शरीरको दाहिने हर चल्दैन । खाना खान र शौचालय जान अरुकै सहारा चाहिन्छ । दैनन्दिन रोगले गाल्दैछ । बोली मधुरो र अस्पष्ट हुँदैछ । ३० वर्षीया परियार अहिले जीवनमरणको सङ्घर्षमा छटपटाइरहनु भएको छ ।
गलकोट नगरपालिका–७ मल्मकी परियारले आफूलाई ‘ब्रेन ट्युमर’ भएको बताउनुभयो । उहाँ अहिले छोरीहरु करिष्मा र करिनासहित माइतीमा बस्नुहुन्छ । श्रीमानले बेवास्ता गरेपछि एक वर्षदेखि आमासँग बस्दै आएको उहाँले सुनाउनुभयो । “म बिरामी परेपछि घरकाले हेर्नै छाडे, श्रीमानले पनि अर्की बिहे गर्छु भन्थे, अहिले त कुनै अत्तोपत्तो छैन”, परियारले भन्नुभयो ।
उहाँको छिमेकी गाउँ झिर्काका जुने मल्लसँग बिहे भएको थियो । २०७६ कात्तिकमा भने श्रीमानले नै उपचारका लागि बुटवल पु¥याएको परियारले सम्झनुभयो । त्यहाँको क्रिमसन अस्पतालमा जाँच गरेपछि एक सातालाई औषधि लिएर घर फर्किएको उहाँको भनाइ छ । “त्यतिबेला मलाई के भएको भन्ने थाहा भएन, श्रीमानले पनि भनेनन्”, परियारले भन्नुभयो, “पछि रोगले च्याप्दै गयो, म बिस्तारामा परेँ ।”
गाउँका जानेबुझेकालाई अस्पतालको कागज देखाएपछि मात्र आफूलाई ‘ब्रेन ट्युमर’ भएको थाहा पाएको परियारले बताउनुभयो । बुटवलको अस्पतालबाट फर्केयता परियारको थप परीक्षण र उपचार हुन सकेको छैन । उहाँसँग रोग निको पार्नलाई खाने कुनै औषधिसमेत छैन । पहिले जाँचेका चिकित्सकले उपचारका लागि बोलाएपनि अर्थाभावका कारण परियार जान सक्नुभएको छैन ।
परियारका लागि माइतीमा पनि आमाबाहेक अर्को कोही छैन । बुवा चित्रबहादुर बितेपछि ५८ वर्षीया आमा कुमारी सहराविहीन हुनुहुन्छ । आमाले मेलापात र ज्यालादारी गरेर परिवारको गुजारा धान्दै आएको परियारले बताउनुभयो । बिरामी छोरी र दुई नातिनीहरुको हरेचाह एवं पालनपोषणको बोझले बुढ्यौली लाग्दै गर्नुभएकी कुमारीलाई थिचिरहेको छ ।
“उमेरकी छोरी बिस्तारामा पर्दा पर्नु पीर परेको छ, उपचार गर्न पाए, हात खुट्टा चले श्रीमानले नहेरेपनि केही गरेर खाने थिइ” कुमारीले भन्नुभयो, “मैले सक्ने बेलासम्म त जेनतेन गरुँला, पछि कस्तो होला, यी नातिनीहरुले के गर्लान् भनेर माया लाग्छ ।” कतैबाट सहयोग पाए छोरीलाई उपचारमा लैजाने धोको उहाँमा छ ।
परियारले तत्कालिन माओवादी सशत्र युद्धताका जनमुक्ति सेनामासमेत काम गर्नुभएको थियो । “सेनामै भर्ति भएर दुई वर्षजति लडाईँमा सामेल हुनुभएको थियो, पछि समायोजनमा पनि नाम छनोट भएको थियो तर उहाँ जानुभएन”, नेकपा (माओवादी केन्द्र) जिल्ला सचिवालय सदस्य कर्ण विद्रोहीले भन्नुभयो ।
मुलुकको परिवर्तनका खाँतिर सङ्घर्षमा लाग्नुभएकी परियारको यस किसिमको पीडादायी स्थिति हुँदासमेत पार्टी र सत्ताको नेतृत्व अनुत्तरदायी बन्नु दुःखद् भएको उहाँको भनाइ छ । परियारको उपचार र पुनःस्थापनाका लागि पार्टी नेतृत्वले पहलकदमी लिनुपर्ने र राज्यका निकायले पनि उचित सहायता दिनुपर्ने विद्रोहीले बताउनुभयो । परियार र विद्रोही नाताले नजिकका दाइबैनी हुन् ।
परियारले आफू पार्टीमा भूमिगत भएकै बेला बुवाको निधन भएपछि घर फर्केको बताउनुभयो । “बुवा बितेपछि आमा घरमा एक्लै हुनुभयो, त्यसपछि म घरमा आएँ, पछि जनमुक्ति सेनामा फर्किन”, उहाँले भन्नुभयो । अहिले पार्टीले आफूलाई बिर्सिएको परियारले बताउनुभयो । सञ्चोबिसञ्चो सोध्ने पनि कोही नभएको उहाँको गुनासो छ ।
यतिका समयसम्म उहाँको स्थिति गुमनामझैँ थियो । परियारले सोमबार आफ्नै फेसबुकमार्फत् रोगले थलिएको फोटो र सहयोगको याचनासहित पोष्ट सार्वजनिक गरेपछि बल्ल धरैले स्वास्थ्य अवस्थाबारे थाहा पाएका थिए ।
उहाँले लेख्नुभएको छ –‘मेरो फेसबुकको सम्पूर्ण साथीहरुलाई धेरैधेरै सम्झना छ । म आज यस्तो परिस्थितिमा छु, जुन न म गरेर खान सक्छु, नत मेरेर जान सक्छु । आज दैवको आँखा लाग्यो मेरो जिन्दगीमा । अहिले आएर म सबैको लागि बोझ भएकी छु । साथीहरु मलाई टाउकोको ‘ब्रेन टुय्मर’ भन्ने रोग लागेको छ । मेरो दाइने हर चल्दैन । मलाई उपचार गर्नको लागि मेरो आर्थिक स्थिति कमजोर छ । उपचार गर्ने पैसा पनि छैन । मेरो उपचार गर्न कोही आफन्ती पनि छैनन् । श्रीमानले हेला गरेर माइतीमा बस्छु । मेरो दुई वटा छोरी छन् । मेरो दाजुभाइ पनि कोही छैनन् । माइतमा पनि आमा मात्र हुनुहुन्छ । मेरो श्रीमानले पनि उपचार गर्न मानेनन् । साथीहरु मलाई हजुरहरुले सक्दो सहयोग गरिदिनुहोला । सहयोग गर्न चाहानुहुने साथीहरुले (९८४८६१८४६१) मा सम्पर्क गर्नुहोला ।’