काठमाडौं – अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।
काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो ।
आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ ।
१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् ।
गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।
जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ ।
सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।