कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७८


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यस जितसँगै देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका थिए। सो महाधिवेशनमा पनि देउवाले दोस्रो चरणको निर्वाचनबाट जित हासिल गरेका थिए। १३ औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा देउवा, सिटौला र पौडेल भिडेका थिए। कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्दा भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई कृष्ण प्रसाद सिटौलाले सहयोग गरेका थिए।

यो महाधिवेशनमा पनि दोस्रो चरणमा देउवाले जित निकालेका हुन्। सभापतिका प्रतिस्पर्धीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन जनाएका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो।

तीनै उम्मेदवारको देउवालाई साथ

२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।

यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?