जापानमा कार्यरत छोराछोरीले आमाको स्मृतिमा आश्रममा भोजन सेवा

-


     जनहित न्युज    
     भाद्र ३० गते २०७८


रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा बुधवार बागलुङस्थित मानवसेवा आश्रममा रहेका सहयोगापेक्षी नागरिकलाई भोजन सेवा उपलब्ध गराएका छन।
आश्रममा रहनुभएका ४८ जना आश्रितजनलाई थापाका आफन्तजन ललिता, टीका, रुपा र रामले बिहानको भोजन वितरण गरेका थिए । थापा र उनकी दिदी कल्पना भने अहिले जापानमै हुनुहुन्छ । आमाको स्मृतिलाई मानवीय सेवामा जोड्ने हेतुले आश्रमलाई सहयोग गरेको थापाले टेलिफोनमा बताए ।
भोजन सेवाका लागि थापाले रु. दश हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको आश्रमका सेविका बिपना तामाङले जानकारी दिइन । उनले आश्रमको सहयोगी बनेकोमा थापा र उनको परिवारप्रति आभार व्यक्त गरिन ।
जापानमा रेष्टुराँ व्यवसाय गर्दै आएका थापाले आश्रमका लागि थप व्यवस्थापकीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन। आश्रमको निर्माणाधीन भवनमा पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
अलपत्र, दिनदुःखी र अशक्त नागरिकको सहारा बन्दै आएको आश्रम दाताहरुको सहयोगकै भरमा चल्दै आएको छ । सङ्घ, गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा आश्रमको आफ्नै भवन बन्दैछ । आश्रमले बागलुङलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला’ घोषणाको तयारीसमेत थालेको छ ।
आश्रमले हालसम्म सडकमा अलपत्र परेका सयौँ व्यक्तिलाई उद्धार गरिसकेको छ । कतिपयको परिवारसँग पुनःमिलनसमेत भएको छ । स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?