कोभिड-१९ कोरोनाबाट अल्पायु निधन भएका गलकोट नगरपालिका वार्ड नम्बर ७ का स्वर्गीय भीमबहादुर थापाको परिवारलाई घुम्टे युवा परिवार जापान शाखाद्वारा संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।
पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थापाको मृत्युपछि परिवारमा रहेका एक छोरा एक छोरी र श्रीमतीलाई जीवन यापनमा सहजता होस भन्ने उद्देश्यले संकलित २१ लाख भन्दाबढि रकम बिहिबार परिवारलाई हस्तान्तरण गरिएको जापान शाखाका उपाध्यक्ष शिबु थापाले जानकारी दिए ।
जापान शाखाका साथै अन्य बिभिन्न अभियानबाट संकलित रकम वार्ड अध्यक्ष टिकाबहादुर थापा, स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवीको उपस्थितिमा मृतक थापाको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष थापाले परदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई घरदेशमा हुने हरेक दुःखदर्दमा सदा साथ मिलिरहेकोले यस्ता कार्यको संयोजन गर्ने घुम्टे युवा परिवार शाखा जापानलाई उच्च सम्मान गर्नुपर्ने बताए ।
प्राप्त रकमको सही र व्यवस्थित सदुपयोग गरि असहज रहेको मृतक थापाको परिवारलाई सहज बनाउन सहयोग पुग्ने रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
सामान्य ज्याला मजदुरी गरेर परिवारको लालनपालन गरिरहेका थापालाई विश्वव्यापी क़ोरोनाको महामारीले मृत्युको मुखमा पुर्याएपछि आफ़नो बस्ने बास समेत नरहेको परिवारको दुःख र कारुणिक अवस्थालाई ध्यानमा राखेर बालबालिकाको पठनपाठनमा सहयोग र बासस्थानको व्यवस्थामा सहयोग प्रदानका लागि जापानमा आर्थिक अभियान संचालन गरि सो रकम संकलन गरिएको शाखाका सचिव दिनेश थापाले बताए । जापानमा चलाइएको सो आर्थिक अभियानमा २ सय ७१ जनाले आर्थिक सहयोग प्रदान गरेका थिए ।
गलकोट लगायत विभिन्न क्षेत्रबाट मृतक थापाको परिवारलाई राहत प्रदानका लागि आर्थिक अभियानहरु संचालन गरिको थियो । ती अभियानहरूबाट करिब ३५ लाख रकम संकलन भएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।
जन्मभूमिमा परेका दुःख कष्टमा जापान शाखाले सधैभरि साथमा साथ दिदै आर्थिक वा अन्य सक्दो सहयोग निरन्तर पुर्याउदै आइरहेको अध्यक्ष दिलबहादुर थापा रामुले बताए ।