
त्सु, जापान ।
जापानको मिई प्रान्त सरकारले विदेशी नागरिकहरूलाई सरकारी कर्मचारीको रूपमा भर्ना गर्न रोक लगाउने (राष्ट्रियताको आवश्यकता पुन: लागू गर्ने) प्रस्ताव अघि सारेपछि यसको चौतर्फी आलोचना र विरोध सुरु भएको छ। मिई प्रान्तका गभर्नर कात्सुयुकी इचिमीले गत डिसेम्बर २५ मा सार्वजनिक गरेको यो योजनाले जापानमा रहेका विदेशी समुदाय र मानव अधिकारकर्मीहरू माझ गम्भीर चिन्ता पैदा गरेको छ।
मानव अधिकार समूहको कडा आपत्ति
यस प्रस्तावको विरुद्धमा मिई प्रान्तका तीन प्रमुख मानव अधिकार संगठनहरूको सञ्जालले जनवरी १३ मा एक पत्रकार सम्मेलन गर्दै उक्त विभेदकारी प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ। सञ्जालमा ‘बुराकु लिबरेसन लिग’, ‘विदेशी नागरिकको शिक्षा अनुसन्धान संघ’ र ‘मानव अधिकार अनुसन्धान संस्थान’ सहभागी छन्।
सञ्जालले डिसेम्बर ३० मा प्रान्तीय सरकारलाई बुझाएको पत्रमा भनिएको छ— “यो कदमले नागरिकहरूमा राष्ट्रियताका आधारमा गरिने अन्यायपूर्ण व्यवहार स्वीकार्य छ भन्ने गलत सन्देश प्रवाह गर्छ। यसले समाजमा गम्भीर नकारात्मक असर पार्न सक्छ।” मानव अधिकारकर्मीहरूले यस योजनालाई ‘मन्द नश्लवाद’ (Mild Xenophobia) को संज्ञा दिएका छन्।
‘बहुमतले अल्पसङ्ख्यकको भाग्य फैसला गर्न मिल्दैन’
प्रान्तीय सरकारले यो विवादास्पद प्रस्तावका बारेमा १०,००० स्थानीय बासिन्दाहरू माझ सर्वेक्षण गर्ने तयारी गरेको छ। तर, अधिकारकर्मीहरूले यस प्रक्रियामा पनि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार अल्पसङ्ख्यकको अधिकारसँग जोडिएको विषयलाई बहुमतको राय (सर्वेक्षण) बाट निर्णय गरिनु मानव अधिकारको दृष्टिकोणले गलत छ।
पत्रकार सम्मेलनमा ‘विदेशी नागरिक शिक्षा अनुसन्धान संघ’ की अध्यक्ष नोबुको उसुकिनेले भनिन्, “यो राष्ट्रियताका आधारमा गरिएको स्पष्ट भेदभाव र अन्याय हो। म गभर्नरलाई यो प्रस्ताव तुरुन्त फिर्ता लिन आग्रह गर्दछु।”
५१ संस्थाको ऐक्यबद्धता
यो आन्दोलन केवल मिई प्रान्तमा मात्र सीमित छैन। जनवरी १३ सम्ममा जापान भित्र र बाहिरका ५१ वटा मानव अधिकारवादी संस्थाहरूले यो प्रस्तावको विरोधमा ऐक्यबद्धता जनाएका छन्। विदेशी कामदारहरूको हकहितका लागि काम गर्ने संघसंस्थाहरूले जापान जस्तो जनसांख्यिकीय संकट झेलिरहेको देशमा यस्ता विभेदकारी नीतिले अन्तर्राष्ट्रिय छविमा समेत धक्का पुग्ने चेतावनी दिएका छन्।
जापानले पछिल्लो समय विदेशी श्रमशक्तिलाई आकर्षित गर्न विभिन्न भिसा नीतिहरू ल्याइरहेका बेला, मिई प्रान्तको यो उल्टो कदमले धेरैलाई अचम्मित बनाएको छ।



