नेपालमा जाइकाको गाडीमाथि भएको ढुंगा प्रहारमा जापानी राजदूतावासले आपत्ति जनायो

-


     जनहित न्युज    
     भाद्र २८ गते २०८०


नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिचुलाई लक्षित गरी ढुङ्गा प्रहार भएकोप्रति आपत्ति जनाएको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै आकिमिचुलाई लक्षित गरी ढुंगा प्रहार गर्दा उनी घाइते भएको र उनको सवारीसाधन क्षति भएको जनाएको छ। 

प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि घटनाबारे दूतावासले थप बताएको छैन। प्रहरी स्रोतका अनुसार बुधबार त्रिचन्द्र क्याम्पस अगाडि उनीमाथि ढुंगा प्रहार भएको थियो। 

दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ। ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनु चाहिँ अपराध हो ।’विज्ञप्तिमा भनिएको छ,‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ।’

‘नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ, ’विज्ञप्तिमा भनिएको छ। 

दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ,‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?