एनआरएनए जापान विवाद: निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेकोले भ्रममा नपर्न आग्रह

- अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षले घोषणा गर्यो नया कार्यसमिति

-


     जनहित न्युज    
     पौष ३० गते २०७८


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी जापानको गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनमा असन्तुष्ट पक्षले निर्वाचन निष्पक्ष नभइ धाँधलीपूर्ण रहेको भन्दै निर्वाचनको परिणामलाई स्वीकार नगरि निवर्तमान कार्यसमितिकी कार्यवाहक अध्यक्ष अनिता गुरुङलाई पूर्ण अध्यक्षको ज़िम्मेवारी तोकेको बताएको छ भने संस्थापन पक्षले जापान तथा नेपालको क़ानून अनुसार एकै नामबाट दुई संस्था दर्ता प्रक्रिया हुन नसक्ने स्पष्ट पारेको छ ।
२०१९-२०२१ कार्यकालकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी गुरुङले कार्यबाहक (काबा) चलाउँदै आएकोमा अब पूर्ण अध्यक्षको ज़िम्मेवारी प्रदान गरिएको बिहिबार बसेको बैठकका निर्णय भनि सार्वजनिक गरिएको निर्णयमा उल्लेख गरिएको छ भने शुक्रवार संस्थापन पक्षका प्रवक्ता
सुवास लामिछानेद्वारा प्रेस वक्तव्य जारी गर्दै समाजमा अराजक र अनावश्यक विवाद निकाल्न उद्दत केही व्यक्तिहरुले गैर कानुनी ढंगबाट एनआरएनए जापानको लेटर प्याड लगायतको सामग्री दुरुपयोग गरि गैर कानुनी तवरले गतिविधि गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यवाहक अध्यक्षको ज़िम्मेवारीमा रहेकी गुरुङको अध्यक्षतामा नै जुलाई २५ मा अधिवेशन भै सोही अधिवेशनले २०१९-२०२१ को कार्यसमितिको विघटन गराइ जुलाई ३० मा निर्वाचन सम्पन्न भएको थियो ।
सो निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै निर्वाचनमा पराजित पक्षले निर्वाचनको निष्पक्षता र सिस्टमको दुरुपयोग गरि मतदाताको मताधिकार हनन गरि विद्युतीय प्रणालीमार्फत मतदान गरि आफ़नो पक्षमा निर्वाचनको परिणाम सार्वजनिक गरिएको आरोप लगाउदै सो निर्वाचनको परिणाम स्विकार नगरि केहि समयदेखि आफनै अध्यक्षताको समितिलाई आधिकारिक रहेको बताऊदै आएका छन ।
निर्वाचनबाट निर्वाचित शिव प्रसाद पौडेल नेतृत्वको एनआरएनए जापानले जापानमा एनआरएनए भन्ने अर्को संस्था नरहेको र दर्ता हुन पनि नसक्ने बताएको छ ।

अध्यक्ष पौडेलले आफूहरुले जापानको स्थानीय सरकारबाट तोहोन अर्थात कानूनी मान्यता प्राप्त प्रमाण पत्र लिइसकेको अवस्थामा जापानमा एनआरएनए भन्ने अर्को संस्था दर्ता हुन नसक्ने बताएका हुन ।
अध्यक्ष पौडेलले एनआरएनए र त्यो भित्रको बैकिङ कागजात, तोहोन लगायत अघिल्लो समितिबाट कानुनी रुपमा आफूहरुको नाममा आइसकेकाले आफूहरु नै आधिकारिक र कानूनी मान्यता प्राप्त रहेको बताए । पौडेलले एनआरएनए जापानको लोगो, लेटरहेड प्रयोग गर्ने कानूनी अधिकार कसैलाई नभएको बताउँदै कसैले दुरुप्रयोग गरे कानूनी कारवाही हुन सक्ने समेत बताए ।

निर्वाचनमा ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिंग लिंक एउटै इमेलमा प्राप्त गरि २९०४ मत खसालिएको तथ्य पाइएकोले स्वस्थ्य र निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको प्रतिवेदन अध्यक्ष मण्डलद्वारा गठित निर्वाचन समीक्षा समितिले सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनको आधारमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले ग्रुप मेलको दुरुपयोग भएको, भोटरहरूको ईमेल परिवर्तन, जापानबाट बाहेकका मूलुकबाट भोटिङ भएको लगायतका अन्य कारणले निर्वाचनमा अनियमितता भएको उल्लेख गर्दै निर्वाचनको वैधतामाथि प्रश्न उठाएपछिको ४ महिनापछि असन्तुष्ट पक्षले ६ महिनाभित्र पुन निर्वाचन गर्ने योजनासहित आफ़नो कार्यकाललाई निरन्तरता दिएका अभिव्यक्तिहरू सार्वजनिक भएका छन ।

तिनै अभिव्यक्तिको मध्यको बिहिबार जारी सार्वजनिक गरिएको निर्णय अनुसार कार्यसमितिलाई पूर्णता दिदै ३३ सदस्यीय कार्यसमितिको नामावली प्रकाशित गरिएको छ । नामावली अनुसार अध्यक्षमा अनिता गुरुङ, बरिष्ठ उपाध्यक्ष छत्र दहाल, उपाध्यक्ष नवराज गौतम, टिकाराम कडेल, गंगा घर्ति मगर, हरि चन्द्र लामा र टिकाराम खरेल महिला उपाध्यक्षमा मन्जु गिरी(वन), महासचिव- बिकाश बस्नेत सचिवमा बिमानसिंह मुक्तान र ईन्द्रजित अधिकारी महिला सचिवमा निर्मला भट्ट कोषाध्यक्षमा कालिका थापा सहकोषाध्यक्षमा जिवन गुरुङ, प्रवक्तामा सरिता ढकाल, युवा संयोजक राजेश खनाल र महिला संयोजकमा कमला काप्री रहेको बताईएको छ ।
सदस्यहरूमा सुरेश गिरी, कृष्ण भण्डारी, नृप बुडा, बाबुराम खरेल, राम प्रसाद शर्मा धनपती, फडिन्द्र पहाडी, अर्जुन केसी, प्रेम कडेल, सुरेश सापकोटा, लक्षमण श्रेष्ठ, अमर केसी, मनिष मगर, शिवु थापा, नरेश राई,मनकुमारी ॲगाई र रबि पोखरेल रहेका छन ।

सो निर्णय सार्वजनिक भएलगत्तै संस्थापन पक्षले कड़ा प्रतिक्रिया दिदै असन्तुष्ट पक्षसँग कुनैप्रकारको सहमति र सहकार्य नहुनेबरु कोषको हस्तान्तरण नभएकोमा कानुनी उपचारको खोजी गर्ने र एनआरएनएको सदस्य रहेको नाताले अनुशासनको कारवाही समेत गर्ने चेतावनी दिएको छ ।
नेपाल सरकारले पनि यसलाई पुन:निर्वाचन गर्न लिखित निर्देशन दिएको नेपाल प्रहरीमा साइबर क्राइमको उजुरी मुद्धा परेको जनाउदै असन्तुष्ट पक्षले आफ्नो कर्तब्य अनुरुप यहि कार्यसमितिले आफ्नै सिष्टम प्रयोग गरेर पुन:निर्वाचन गर्ने, निष्पक्ष निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जापानले सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनिअसंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई अगाडि बढाउने निचोडमा पुगेको बताईसकेको छ ।

असन्तुष्ट पक्षको बैठकको निर्णय जस्ताको तस्तै:
आज मिति २०२२ जनवरी १२ मा एन आर एन एन जापानको बैठकले निम्न अनुसार निर्णय गरेको छ। जापान को समाज लाइ अझ बढी सहयोग समन्यव गर्न र सामाजिक सेवा लाई सक्रिय भएर सेवा गर्ने र हाल कार्यबाहक रहिरहेको अनिता गुरुङलाई पूर्ण अध्यक्ष हुने निर्णय गर्दै थप निम्न निर्णयहरु भएको सम्पूर्ण सरोकार वालाहरुलाई जानकारी गर्दछौ❘
निर्णयहरु:
१. एनआरएनए जापानमा देखिएको बिवाद र यसको निराकरणका लागि सहजिकरण गर्दै जापान स्थित नेपाली राजदुतावास,संघ संस्था, क्षेत्रीय समिति,अग्रज र सरोकारवाला संग समन्वय गर्दै अगाडि बड्ने निर्णय गरियो ।
२. कार्यसमिति लाई पुर्णता दिदै नव मनोनित पदाधिकारी तथा सदस्यहरुले अझै प्रभावकारी रुपमा संस्था र समाज प्रति उत्तरदायित्व बहन गर्दै संस्थाको सफल अबतरण हुने गरि कार्यसम्पादन गर्ने।
३.परिषदका उपाध्यक्ष श्री टिकाराम खरेल ज्यू की ममतामयी आमाको निधन प्रति दुख ब्यक्त गर्दै महत मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानहोस भन्ने कामना गर्दछौ।
४. कोभिडबाट सुरक्षित रहदै आफु पनि बाचौ अरुलाई पनि बचाऔ भन्दै, जापान सरकार र नेपाली दुतावासले प्रकासन गरेका सूचना तथा प्रयोग गर्नु पर्ने नियम पालना गर्न अनुरोध गर्दछौ।
५.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमी लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनि दिएको अभिव्यक्ति र उक्त कार्य प्रति खेद प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षण गर्दछौ।

संस्थापन पक्षद्वारा जारी विज्ञप्ती

सम्पूर्ण जापानवासी दाजुभाई तथा दिदिबहिनीहरुमा नमस्कार

गैर आवासीय नेपाली संघ एनआरएनए जापानको २०२१-२०२३ कार्यसमितिको नेतृत्व शिव प्रसाद पौडेलले गरिरहनुभएको यहाँहरुलाई अवगत नै छ । एनआरएनए स्थापनाकाल देखि गैरआबासिय नेपाली संघ अन्तराष्ट्रीय कमिटीका निबर्तमान अध्यक्ष भबन भट्ट लगाएत हालसम्मका पूर्व अध्यक्षज्यु हरुको संरक्षणमा ,अन्तराष्ट्रीय समन्वय परिषद ,पररास्ट्रमन्त्रालय र जापान सरकारबाट समेत मान्यता प्राप्त भई सम्मानित व्यक्तित्वहरुको छत्रछायाँ र रेखदेखमा कानुनी रुपमा समेत जापानमा दर्ता भएको एक मात्र एनआरएनए रहेको छ र त्यो शिव प्रसाद पौडेलले नेतृत्वमा रहेको हो ।
जापान तथा नेपालको क़ानून अनुसार एकै नाम बाट दुई संस्था दर्ता प्रक्रिया हुन नसक्ने स्पष्ट नै छ ।

बैधानिक विधि मार्फत निर्वाचित भई वर्तमान कार्यसमितिले जापानवासी नेपालीहरुको हक हित र एकताको लागि सक्दो काम र आफ्ना प्रयासगरि समर्पित गरिरहेको छ ।यसै बिच समाजमा अराजक र अनावश्यक विवाद निकाल्न उद्दत केही व्यक्तिहरुले गैर कानुनी ढंगबाट एनआरएनए जापानको लेटर प्याड लगायतको सामग्री दुरुपयोग गरि गैर कानुनी तवरले गतिविधि गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

शिव प्रसाद पौडेल नेतृत्व बाहेकको जापानमा कुनैपनि एनआरएनएन जापान नामको संस्था नभएको पुन सबैमा जानकारी गराउँदछौं । अवैधानिक र गैरकानुनी रुपमा संस्थाको लोगो, लेटरहेड जस्ता सामग्री दुरुपयोग गर्दै एकताबद्ध जापानको नेपाली समाजलाई भाँड्ने किसिमले गतिविधि गरिरहेका त्यस्ता व्यक्तिको पछि नलाग्न समेत हार्दिक अपिल गर्दछौं ।

कोभिड संक्रमणको महामारि बर्तमान अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै काम र दैनिकी अघि बढाउनुहुन अनुरोध सहित एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई तपाईंहरुबाट प्राप्त साथ र सहयोग प्रति फेरीपनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

सुवास लामिछाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?