गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको
जुलाई ३० मा सम्पन्न एघारौ अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरू तथा अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार टोकियोमा सम्पन्न सो सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक डम्बरराज पौडेलले २०२३-२०२५ कार्यकालको लागि निर्वाचित पदाधिकारी, सदस्य तथा आइसीसी सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले एनआरएनएमा समन्वय, सहकार्य, सत्भाव र सहिष्णुताको उच्चतम नमूना जापानबाट प्रस्तुत गर्न सफल रहेकोले विश्वभरका एनआरएनएले यसलाई आत्मसात् गर्न आग्रह गरे । एनआरएनए आइसीसीका उपाध्यक्ष आरके शर्माले आफ्नो देशमा रहेको नेपाली समुदायलाई एकताबद्द बनाउन सक्नु नै त्यस देशमा रहेको नेतृत्वको सक्षमता रहेकोले उक्त सक्षमता जापानले देखाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले एनआरएनएले नेपाली नागरिकको हित र नेपाली समाजलाई एकता, बन्धुत्व, र भातृत्वको विकास गराउनका लागि अहम भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । यसरी बोल्नेहरूमा आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, गोविन्द श्रेष्ठ रोविन्द, भूषण घिमिरे, युवा उपाध्यक्ष रोशन थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचित कार्यसमितिलाई बधाई दिदै संगठनिक गतिविधिलाई बिधि पद्धति र योजनाबद्द रूपमा संचालन गर्न आइसीसी उप महासचिव ओम गुरुङ, सह कोषाध्यक्ष टंक गैरे, क्षेत्रीय संयोजक पारषमणि पोखरेल, डिपि कंडेल, क्षेत्रीय उप संयोजक ददिवल खड्का, दिपक कंडेल, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, राजनैतिक संगठनका रोशन केसी, कुलचन्द्र खरेल, भवानी पन्त लगायतले आग्रह गरेका थिए ।
निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलको कुशल नेतृत्वका कारण ट्र्याकबाहिर जान खोजेको एनआरएनए जापानलाई सहि दिशा दिन सकेकोमा शुभकामना व्यक्त गर्ने अधिकांश वक्ताहरूले खुलेर प्रसंशा गरेका थिए ।
समन्वय र सहकार्य नै मेरो पहिलो प्राथमिकता- अध्यक्ष निउरे
एनआरएनए जापानको गरिमालाई उचाइमा पुर्याउने गरि जापान स्थित सामाजिक संघ संस्था नेपाली राजदूतावास र सरोकारवाला निकायको सहकार्यका काम गर्ने प्रतिबद्धता अध्यक्ष नवीन निउरेले व्यक्त गरेका छन ।
पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष निउरेले निर्वाचनका क्रममा व्यक्त प्रतिवद्दता कार्यान्वयनको लागि आफूले सदा सहमति र सहकार्यको नीति अबलम्वन गर्ने बताउदै भने-मेरो प्रमुख भूमिका नै सहकार्य हुनेछ ।
“जुन विश्वासका साथ मलाई मतमार्फत निर्वाचित गराउनु भएको छ । त्यसको मैले उचित सम्मान गर्दै आगामी २ वर्षपछि म निर्वाचित भएको पुष्टि हुने गरि काम गर्ने छु । अध्यक्ष निउरेले भने-“निर्वाचित टिम र एनआरएनएको अभियानमा लागेकाहरूलाई साथमा नै लिएर मैले संस्थाका काम गर्ने छु ।”
जापानमा सक्रिय संघ संस्था र कम्युनिटीसंगको प्रत्यक्ष सम्पर्कमा रहेर मेरो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका निउरेले एक्लैले केहि गर्न पनि सम्भव नभएकोले जापानबासी नेपाली समुदायका सबै मिलेर स्वच्छ सफा र राम्रो र हाम्रो एनआरएनए बनाउने प्रतिवद्दता दोहोर्याएका थिए ।
कार्यक्रम निर्वाचन समितिका संयोजक डम्मरराज पौडेलको अध्यक्षता र सदस्य आनन्द कोइरालाको संचालन र सिद्धार्थ श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
जुलाई ३० मा सम्पन्न निर्वाचनमा को विजयी भै कति मत प्राप्त गरे! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।
आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा अर्का अध्यक्षका प्रत्यासी राजकुमार अधिकारीले ७ सय ७७ मत पाएका थिए भने अर्का प्रत्यासी रामकृष्ण श्रेष्ठले ४९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कुल खसेको मतको ५४.२४ प्रतिशतभन्दा बढि मत निउरेले प्राप्त गरेका छन ।
सम्पन्न निर्वाचनमा ५ उपाध्यक्ष पदका लागि ८ जना प्रत्यासी रहेकोमा सचिन श्रेष्ठले २ हजार ७ सय १२, सुवास लामिछानेले २ हजार ३ सय ८२, देवराज उप्रेतीले २ हजार ३ सय ८१, कृष्ण गैरे शर्मा २ हजार १ सय, ३१ र सिद्धार्थ श्रेष्ठले २ हजार १ सय २१ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् ।
महिला उपाध्यक्षमा एलिजा केसी भण्डारीले २ हजार ८ सय १२ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी लक्ष्मी केसी महर्जनले २ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।
निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेलले २ हजार ८ सय ८९ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठ श्याम शीतलले २ हजार ६ सय २६ मत ल्याउन सफल भएका छन् । स्मरण रहोस गत कार्यकालमा हाल निर्वाचित टिकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याइ पराजित भएका थिए ।
३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्प्रधा गरेका थिए । उक्त प्रतिष्प्रधाबाट २७ सय ६२ मत प्राप्त गरि अर्जुन थापा बगाले, २५ सय ६० मत ल्याइ दिपेश केसी खत्री र २१ सय ५२ मतसहित दिलिप कंडेल सचिव पदमा निर्वाचित भएका छन । भने महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नई निर्विरोध निर्वाचित भएकी थिइन ।
कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा ३ हजार ३५ मत ल्याउदै दिपक सुनार विजयी हुदाँ निकटतम प्रतिष्प्रर्धी कर्सांङ तामाङले २ हजार ३ सय ७१ मत ल्याएका छन् । सह कोषाध्यक्ष पदमा रामबहादुर थापाले ३२ सय ६४ मत सहित विजयी हुदा महिला सह कोषाध्यक्ष पदमा अंजु भण्डारी निर्विरोध निर्वाचित भएकी छन ।
युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसंगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् ।भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन ।
८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा ३ हजार ९ सय ४६ मत लिएर सदस्य पदमा दिलिप शर्मा विजयी भएका छन भने अन्य सदस्य पदमा विनय गुरुङले ३२ सय ६१, ध्रुव गौतमले २९ सय ३९, दिनेश लोहनीले २४ सय ८५, ज्योति केसीले ३४ सय ३६ कृष्णप्रसाद कंडेलले २७ सय ३९, नेत्र पाण्डेले २८ सय २४ र रामु कंडेलले ३ हजार ४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् । महिला सदस्यमा यस निर्वाचन कै अत्यधिक मत ३९ सय ७० मतसहित ललिता तामाङ निर्वाचित भएकी छन ।