धेरैजसोले ठानेजस्तो, प्रतीकात्मक चित्रमा कोरिए जस्तो र नागबारे रचिएका प्रतीकात्मक कथामा वर्णन गरिए जस्तो नाग भनेका सर्प जस्तै जन्तु भने हुँदै होइनन्। पुराणमा वर्णन गरिएका कथामा नागले दुःख दिएका कथा होस् वा कृष्णले नागसँग लडेका कथा होस्; वा परापूर्वकालमा नागका बच्चा खनजोतको क्रममा एउटा किसानले झुक्किएर मारेपछि बच्चाका बाआमा (नाग) रिसाएर त्यो किसानको सन्तानलाई मारेपछि बचेकी एकमात्र छोरीले नागलाई प्रसन्न पार्न पूजा गरेर नागबाट बचेकी किम्वदन्ती कथा होस्, यी सबै कथाहरु प्रतिकात्मक हुन्।
अन्य जाति/वंशका मान्छे जस्तै नाग पनि एक जाति वा वंश थिए र अहिले पनि छन्। (अमिश त्रिपाठीको उपन्यासमा पनि नागलाई सूर्यवंशी, चन्द्रवंशी जस्तै एउटा ‘रेस’ अर्थात् जाति वा वंशको रुपमा प्रस्तुत गरिएको छ।)
हामीले सुन्ने, पढ्ने पुराणका कथा भनेका यिनै नाग समुहका मानिस विरुद्ध अन्य जातिका मानिसका युद्धका कथा हुन्।
नागको पूजा भनेको नाग जाति शक्तिशाली भएका बेला उनीहरुलाई गरिएको ‘जयजयकार’ हो। अहिले सडकमा केपीको पक्षमा नारा लगाइए जस्तै, केही समय अघि केपीका तस्बिर काठमाडौँमा बिजुलीका खम्बा खम्बामा राखेर एक समुहले एक प्रकारको पूजा गरिएको जस्तै।
यसरी खासमा नाग भनेका ऐतिहासिक जाति नै हुन्। एउटा वंश हो। जसरी सूर्यवंशी, चन्द्रवंशी आदिको परम्परा छ, त्यसरी नै नागवंशीको पनि पुरानो परम्परा छ।
महाभारतकालमा नाग जातिका समुह नेपाल भारतभर फैलिएका थिए। तिनीहरू कैलाश पर्वतको नजिकैको क्षेत्र, विशेष गरी आसाम, मणिपुर र अहिलेको नागाल्याण्डमा प्रभुत्व जमाएका प्रशस्त प्रमाण पाइन्छन्।
एउटा अध्ययन अनुसार नाग जाति मुलतः काश्मिरी थिए। काश्मिरको ‘अनन्तनाग’ क्षेत्र उनीहरूको गढ मानिएको थियो। नाग वंशकै ब्राह्मणको जाति अझै काश्मिरलगायत अन्य पहाडी क्षेत्रहरूमा पाइन्छन्।
‘शेषनाग’ नाग वंशको पहिलो राजा मानिन्छन्। त्यस्तै शेषपछि, वासुकी, त्यसपछि तक्षक र पिंगला राजा बने। वासुकीको कैलाश पर्वत नजिकै एउटा राज्य थियो । तक्षकले आफ्नो नाममा तक्षशिला राज्य बसाले। यी ‘इतिहास’ पुराणका रहस्य खोतल्दा कथाभित्र गुजिल्टिएर रहेका पाइन्छन्। फुकाउनु पर्छ। बुझिन्छ।
एउटा अध्ययन अनुसार नाग जाति मुलतः काश्मिरी थिए। काश्मिरको ‘अनन्तनाग’ क्षेत्र उनीहरूको गढ मानिएको थियो। नाग वंशकै ब्राह्मणको जाति अझै काश्मिरलगायत अन्य पहाडी क्षेत्रहरूमा पाइन्छन्।
कुन्तीका छोरा अर्जुनले पाताल लोककी उलुपी नामकी नागाकन्यासँग विवाह गरे। अर्जुन र नागाकन्या उलुपीबाट छोरा अरावनको जन्म भएको थियो। अहिले दक्षिण भारतमा अरावनको ‘घर’ अर्थात् मन्दिर छ। भिमका छोरा घटोत्कचको पनि नागाकन्यासँग पनि विवाह भएको थियो, जसको नाम अहिल्यावती थियो र उनको छोरा बर्बरिक वहादुर योद्धा थिए। अब एक पटक सोचौँ त: अर्जुन, घटोत्कच आदिले जमिनमा घिस्रिने लाम्किरोसँग बिहे गरेका होलान् त?
पुराण अनुसार नागहरु कश्यप ऋषिका सन्तान हुन् । कश्यपकी पत्नी कद्रूबाट ८ वटा छोरा जन्मिएका थिए: अनंत (शेष), वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंख र कुलिक।
यसरी नागहरु कुनै घिस्रने जनावर नभएको प्रमाणहरु हामीले सधैँ सुनिरहने पुराना कथामा पाइन्छन्। हाम्रा पुराणका पात्र सत्य हुन्। तर रुपमा देखिएका जस्तै सत्य होइनन्। मैले हेमान्कलाई नागबारे यिनै कुरा सरल तरिकामा बुझाउन त्रिपाठीको “दि सिक्रेट अभ नागज्” सुनाएँ। “दि सिक्रेट अभ नागज्” (नागहरुको रहस्य) नामको यो उपन्यास भारतीय प्रख्यात लेखक अमिश त्रिपाठीले लेखेका हुन्। शिवलाई प्रमुख पात्र बनाइएको यस उपन्यासले नागको रहस्य खोतल्छ।
त्रिपाठीको बुझाइमा हाम्रा पुराण र मिथक भनेका केही अस्वाभाविक प्रस्तुति भएका इतिहास हुन्। ती इतिहास विगतको भुमरी र अज्ञानतामा गाडिएका छन्। रहस्यमयी छन्। कथा खोद्ल्नुपर्छ र इतिहास बुझ्न प्रयास गर्नुपर्दछ।