विज्ञापनको भर शिशु आहार ?

-


     डा अरुणा उप्रेती    
     वैशाख २६ गते २०७९


‘बच्चालाई घरको भोजनले मात्र पोषण तत्व नपुग्ने भएकाले बजारका विभिन्न तयारी खाना खुवाउनुपर्छ’ भनेर भ्रमपूर्ण विज्ञापन प्रचार गरिन्छ । त्यसको आधारमा अभिभावकहरुले घरमै बनाउन सकिने स्वस्थ र सस्तो खाना छोडेर बजारका महँगो र अस्वस्थकर खाना किनेर खुवाउने चलन बढेको छ ।
केही महिनाअघि मैले भेट्दा हातमा पोट्याटो चिप्स बोकिरहेको चार वर्षीय एक बालकको तौल ३० केजी भएछ । १६–१७ केजी हुनु त सामान्य नै हो, ३० किलो त निकै बढी भयो । यसरी तौल बढ्यो भने १६–१७ वर्ष पुग्दा सय केजीभन्दा बढी नै पुग्छ । सो बालककी बज्यैले भनिन्, ‘यसले त भुटेको भातमा पनि आलु चिप्स नहाली खाँदैन । आलु चिप्सको लत नै लागिसक्यो । बिरामी भएर डाक्टरकहाँ लैजाँदा उसको तौल बढी छ, खाना कम गर्नुपर्छ भनेका थिए । के गर्ने होला ?’

बजारमा किनिएका तयारी खानामा चिनी, चिल्लो र नुन बढी हुन्छ । यसले बेफाइदा बढी गर्छ ।
बेलायतका पोषण विज्ञहरु ‘साना बच्चालाई नुन, चिनी हालेको खाना सकेसम्म नखुवाउने’ सल्लाह दिन्छन् । नेपालमा भने गहुँमा चिनी मिसाएर बनाएको महँगो शिशु आहार धेरै दिइन्छ । यस्तो खाना खाएपछि त्यही स्वादमा बानी पर्छ र गुलियो नभएका खाना खान मान्दैनन् ।
बालबालिकाको पोषण र उनीहरुको स्वास्थ्यका सम्बन्धमा अध्ययन गर्न केही समयअघि म ललितपुरको पुनस्र्थापना केन्द्र, राजविराज, वीरगन्ज र नेपालगन्जका अस्पतालस्थित पोषण पुनस्र्थापना केन्द्रमा गएकी थिएँ । अत्यधिक कुपोषण भएर त्यहाँ ल्याइएका बालबालिकाका अभिभावकहरुले ‘खानपिनको वास्ता नगर्ने, बच्चालाई भोक लाग्दा पत्रु खाना (जंक फूड) दिने, स्नेहपूर्वक नखुवाउनाले कुपोषण भएको’ त्यस केन्द्रका कर्मचारीले बताएका थिए ।

बजारमा किनिएका तयारी खानामा चिनी, चिल्लो र नुन बढी हुन्छ । यसले बेफाइदा बढी गर्छ ।

ती पोषण पुनस्र्थापना केन्द्रमा घरमै बनाउन सकिने दाल, भात, आलु, गाजर, रोटी, हलुवा, खिर, हरियो तरकारी, फलफूल, दूध, दही बच्चालाई दिइन्छ । साथै अभिभावकलाई खाना बनाउन पनि सिकाइन्छ
मुङको दाल र चामल बराबर हालेर जाउलो पकाउन सकिन्छ । यसमा अलिकति हरियो तरकारी, गाजर, पालुंगो राखियो भने यसमा प्रशस्त मात्रामा खनिज र रेसादार तत्व पुग्छ । यो भोजन ठूला मान्छेहरुले पनि खान सकिन्छ ।चपाउन सक्ने बच्चालाई दाल वा तरकारीमा चिउरा हालेर दिन सकिन्छ । ४–५ वर्षका बच्चालाई चिउरा भुटेर दूध वा दहीमा हाली दिन सकिन्छ । चिउरामा तरकारीहरु मसिनो पारेर काटी पुलाउ पनि बनाउन सकिन्छ । चिउरा चपाउनाले बच्चाको दाँतको राम्रो व्यायाम हुन्छ । कतिपय अभिभावकले बच्चालाई चपाउन गाह्रो हुन्छ भनेर ४–५ वर्षसम्म पनि सबै भोजन लेदो पारेर ख्वाउँछन् । यो राम्रो चलन होइन ।

खानेकुरा चपाउनाले बच्चाको दाँतका साथै मुखको मासंपेशी पनि बलियो हुन्छ । जौको चिउरा पनि बच्चाको लागि एक स्वस्थकर खाजा हुन सक्छ । जौको चिउरामा अलिकति गुड मिसाएर दूध वा दहीसँग पनि दिन सकिन्छ ।

पखाला लागेका बच्चाहरुलाई चामलको माड एक औषधि नै हो । माडकोे कुनै स्वाद हुँदैन तर स्वास्थ्य राम्रो गर्ने पर्याप्त तत्व हुन्छ । भात र दाल पनि स्वस्थकर भोजन हो ।

मुङको दाल र चामल बराबर हालेर जाउलो पकाउन सकिन्छ । यसमा अलिकति हरियो तरकारी, गाजर, पालुंगो राखियो भने यसमा प्रशस्त मात्रामा खनिज र रेसादार तत्व पुग्छ ।

दालमा भएको प्रोटिन र भातमा रहेको कार्बोहाइड्रेट दुवैको मिश्रण उत्तम हुन्छ । यसमा अलिकति टुसा उमारेको गेडागुडी, चना, केराउ, मटर पनि मिसाउन सकिन्छ । तर यस्तो खाना एकैचोटि धेरै दिनुहुँदैन । पचाउन गाह्रो हुन सक्छ ।

थोरै–थोरै दाल, गेडागुडी दिन शुरु गर्दा यसमा अलिकति लसुन, हिङ पनि हाल्नुपर्छ । यसले दालबाट निस्कने ग्यासको प्रभाव कम गरी पेट ठीक राख्छ ।
यदि कुनै बच्चाले दाल खान चाहेन भने दाल पिसेर कुनै तरकारीमा मिसाउन सकिन्छ । मासको दाल र चामलको खिचडी पनि बच्चाको लागि उपयुक्त हुन्छ । कालो दाललाई ६–७ घण्टा भिजाएर पकाउँदा पचाउन सजिलो हुन्छ । अलिकति घिउ राखेर बनाएको खिचडी स्वस्थकर र स्वादिलो पनि हुन्छ । चिल्लोले शरीरमा भिटामिन ‘डी’, ‘ई’, र ‘के’को शोषण गराउँछ । यस्ता भिटामिनको शोषण नभए बच्चाको हाडको विकास राम्रो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?