
जापानले रुसबाट कोइला आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
जापानका प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रबार यस्तो जानकारी दिएका हुन्। साथै उनले आठ रुसी कूटनीतिक अधिकारीलाई पनि देशनिकालाको घोषणा गरेका छन्।
किशिडाले रुसले निरन्तर आम मानिसको हत्या गरेर अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन गरिरहेको विरोधमा रुसबाट आयात हुने कोइलामा पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन्।
किशिडाले यो रुसको बिर्सिन नसकिने युद्ध अपराध रहेको उल्लेख गरेका हुन्।
जापानले अमेरिका र पश्चिमा मुलुकहरुसँगको सहकार्यमा निरन्तर रुसमाथि प्रतिबन्धको घोषणा गरिरहेको छ। ‘जपान युक्रेनको साथमा छ’, किशिडाले भने।
जापान भारत र चीनपछि कोइला आयात गर्ने विश्वको तेस्रो ठूलो मुलुक हो । जापानको समग्र कोइला आयातमा रुसको ११ प्रतिशतको हिस्सा छ।