
नेपालीहरूको महान पर्वमा सबै रमाईरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीता कुमारी गुरुङ (सविना गुरुङ)को परिवारमा पनि हुनुपर्ने थियो ।तर दुर्भाग्य ८ वर्षपछि आफ़नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुशीको १ महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।
नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्मा केन इसेसाकी नगरमा श्रीमानसंगै ५ वर्षदेखि बस्दै आएकी सबिनाको एक महिना अघि सुत्केरी भएपश्चात् एक्कासी रक्तस्राव भएको र त्यसको शल्यक्रियामार्फत उपचार गराउदा शनिवार राती ज्यान गएको छ ।
गुन्माको इसेसाकी सी स्थित रहेको फुकुई सान फुजिन्कामा शल्यक्रिया गरेर एक महिना अघि साधारण अवस्थामा बच्चा जन्मेको र शनिबार एक्कासी अत्यधिक रक्तश्राप भइ तत्काल स्थानीय अस्पतालमा लगिएको र थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्नु पर्नेमा रिफर गर्न ढिला भएको हुँदा सबिनाको मृत्युको कारण भएको गुन्मा युनिभर्सिटी हस्पिटलको डाक्टरको भनाइ उदृत गर्दै पारिवारिक स्रोतले जनाएको बुझिएको छ ।
शल्यक्रियाको क्रममा सबिनाको ज्यान गएपनि बच्चा( छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली साझा समाज जापानका अध्यक्ष समेत रहेका समाजसेवी बुद्दी शेरचनले जानकारी गराए ।
“नेपालमा आमा र बहिनीको प्रतिक्षामा रहेका ११ वर्षीय छोरासहितले सबिनाको जीवित मुहार हेर्न नपाएपनि शवलाई नेपाल लैजाने आवश्यक तयारीमा छौ” श्रीमान युवराजले आइतबार गुन्मा केन इसेसाकी सिटी शव व्यवस्थान गृहमा राखिएको श्रीमतीको अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा भावविहोल हुदै भने विदेशमा यस्तो दुर्भाग्य कसैलाई नपरोस जहा आमाको मुहार चिन्न नपाउदै छोरी टुहुरी भईन ५ वर्षदेखि आमा पर्खिएको छोराले आमाको मात्र शव देख्नु पर्ने भयो ।
सबिनाको अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि गुन्मा क्षेत्रमा रहेका करिब १०० जना नेपालीको उपस्थिति रहेको थियो । उपस्थित सबैका आखा रसाएका थिए भने नवजात शिशु र परिवारको अवस्था सम्झेर धेरै भक्कानिए थिए ।
सबिनाको शवलाई नेपाल लैजानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र शुभचिन्तकहरूबाट सामान्य रूपमा आर्थिक संकलन समेत गरिएको समाजका अध्यक्ष शेरचनले जानकारी दिए ।



