
सामाजिक संजाल मेटा (फेसबुक) टिकटक तथा ट्विटरले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याका देखाइएका दृश्य हटाएको छ । साथै कसैले त्यस्ता दृश्य राखेमा उसको खातासम्म निलम्बन गरिने जनाएको छ ।
शुक्रबार आबेको हत्या पछि सामाजिक सञ्जालहरूमा हृदयविदारक देखिने गरि हत्याको भिडियो फ़ुटेज र तस्विर लगायतका सामग्रीहरु राखी जनमानसलाई अत्याएको कारण त्यस्ता दृश्य हटाईएको बताएका छन ।
नारा सिटी बस्ने ४१ वर्षीय तेत्सुया यामागामीले घरमा बनाईएको बन्दुकको प्रयोग गरि पूर्वप्रधानमन्त्री आबेलाई पछाडीबाट आक्रमण गरेका धेरै भिडियोहरू सामाजिक सञ्जालमा प्रसारित भएका थिए। केहीले आक्रमण अघि र पछिका दृश्य हरू देखाएका छन् भने केहिले दुवै आक्रमणहरु प्रशारण गरेका छन ।
विपद् व्यवस्थापन एजेन्सीका अनुसार २०२० सम्म प्रधानमन्त्री रहेका आबेमाथि भएको गोली आक्रमणबाट घाइते भएका उनको घाँटीको दाहिने भागमा रगत बगेको र छातीको देब्रे भागमा आन्तरिक रक्तस्राव भै शनिबार बेलुका ५:०३ मा मृत घोषणा गरिएको थियो । प्रहरीले घटनास्थलबाट शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ ।
ट्विटरले आक्रमणसँग सम्बन्धित “हानिकारक सामग्रीलाई सम्बोधन गर्न” काम गरिरहेको र नियमहरू उल्लङ्घन भएकालाई हटाउने काम सक्रिय रुपमा भै रहेको बताएको छ ।
मेटाले अर्थात् फेसबुकले आक्रमण क्षणका दृश्य (भिडियो)हरू मेटाएको छ र संदिग्धको फेसबुक र इन्स्टाग्राम खाताहरू बन्द समेत गरेको छ ।“जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा हामी अत्यन्तै दुखी र स्तब्ध भएका छौं,” मेटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“हामी हाम्रो मन्चमा कुनै पनि हिंसात्मक व्यवहारलाई सहन गर्दैनौं र सहने छैनौं। हामी घटनासँग सम्बन्धित कुनै पनि उल्लङ्घनकारी सामग्री हटाउन काम गरिरहेका छौं, ” विज्ञप्तिमा भनिएको छ ।
मेटाले केहि दृष्य र तस्विर राख्ने व्यक्तिहरूमा आफ्नो नीति अन्तर्गत कारबाही गरेको छ । र ,यसले आक्रमणका तस्बिरहरूलाई “विचलित पार्ने” भनेर वर्गीकरण गरिरहेको छ।
युट्युबले पनि यसको प्रणालीले समाचार संस्थाहरू जस्ता “आधिकारिक स्रोतहरू” बाट आक्रमणसँग सम्बन्धित दृश्य (भिडियो)हरूलाई प्रमुखता दिइरहेको जनाएको छ । साथै हिंसात्मक वा सजीव सामग्रीमा प्रतिबन्ध समावेश गर्ने नियमहरू तोड्ने कुनै पनि सामग्री हटाउने बताएको छ ।
टिकटकले पनि त्यस्ता सामग्री राखेका खाताहरू पहिचान गर्ने काम गरिरहेको र ती दृष्य भेंटिएमा हटाईने काम गरिरहेको बताएको छ ।



