जिल्लाको गलकोटमा पाईने असला माछाको मूल्य बढेर गएको छ । दरमखोलाको चिसो पानीमा पाईने असला माछा निकै स्वादिलो हुने हुँदा यसको माग बढ्दो छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने ‘असला’ माछाको माग विदेशमा बढेपछि यसको मूल्य विगत केही वर्ष यता ह्वात्तै बढेको हो ।
गलकोटबाट विश्वका विभीन्न मुलुकमा पुगेका प्रदेशीहरुलाई गाउँघरबाट कोसेली पठाउनका लागि चर्को मूल्य तिरेर माछा किन्न थालिएपछि अहिले असला माछाको मूल्य बढेको हो । अहिले दरमखोलामा पाईने सुकेको असला माछाको मूल्य प्रति किलो पाँच हजार रुपैयाँ बढि पर्ने गरेको स्थानीय बताउँछन् ।
‘अर्गानिक असला’ माछा पाइने दरमखोलामा बढेको प्रदूषण, करेन्ट प्रयोग गरी माछा मार्ने परिपाटीका कारण माछा कम हुँदै गए पनि त्यहाँका माछा विदेश निर्यात हुने भएपछि माछाको मूल्य बढेको व्यवसायीहरुको भनाई छ ।
अन्यत्र पाइने माछा भन्दा बढी स्वादिष्ट हुने भएपछि दरमखोलाका माछा जापान, अमेरिका, बेलायत लगायत युरोपका विभीन्न मुलुकहरुमा निर्यात हुने गरेका छन् । गल्कोट क्षेत्रमा विश्वका विभीन्न मुलुकमा पुगेका आफ्ना आफन्तलाई कोसेली पठाउनका लागि भने जति रकम तिरेर माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको हो ।
व्यवसायिक रुपमा माछा विदेश निर्यात नभए पनि कोसीलेको रुपमा विदेश पठाउने चलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले बताईन् । ‘विदेशमा बस्ने आफन्तलाई कोसेली पठाउनका लागि यहाँको माछा निकै लोकप्रिय भएको छ,’ घर्तीले भनिन्,‘विदेश पठाउनेहरुले भने जति मूल्य तिर्ने भएपछि अहिले माछाको मूल्य समेत चर्को भएको छ ।’ खोलामा माछा कम पाइने र पाइएका माछा पनि सिधै विदेश जाने भएपछि दरमखोलाको असला माछा खानकै लागि गलकोट आउनेहरुलाई पु¥याउन धौ–धौ हुने गरेको घर्तीको भनाई छ ।
‘पहिले पहिले दरमखोलामा माछा जति पनि पाइन्थ्यो, गलकोटको चिनारीकै रुपमा रहेको असला माछा खानका लागि टाढा टाढाबाट मानिसहरु आउँथे,’ उनले भनिन्,‘यहाँको हाटेल व्यवसाय पनि माछाकै कारण राम्रोसँग फस्टाएको थियो, अहिले माछा विदेश पठाउने परिपाटीका कारण महंगो मूल्य तिरेर माछा खान आउनेहरुलाई पनि पु¥याउन सकेका छैनौं ।’ विदेश पठाउनका लागि पहिले नै अर्डर लिएर माछा मार्ने गरेका स्थानीय जलारीहरुले माछा सुकाएर विदेश पठाउने गरेका छन् ।
आलो माछा प्रति किलोग्राम एक हजार रुपैयाँसम्म पर्ने गरेकोमा सुकेको माछाको मूल्य १० हजारसम्म पुगेको स्थानीय जलारी नविन काउचाले बताए । ‘माछा मार्न सके यसबाट कमाई राम्रै छ, आलो माछाको मूल्य एक हजार छ, कतिपयले पन्ध्र सय रुपैयाँमा एक किलो माछा किन्न समेत तयार हुन्छ,’ उनले भने,‘सुकेको माछाको प्रतिकिलो १० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।’
आफू लगायत अहिले पनि दरमखोलामा २०–२५ जना युवाहरुले माछा मारेरै जीविकोपार्जन गर्ने गरेको काउचाले बताए । ‘ अहिले दरमखोलामा हामी २०–२५ जना जति दैनिक माछा मारेरै गुजारा चलाईरहेका छौं,’ उनले भने,‘ विदेश पठाउने ग्राहक पाइएमा कमाई राम्रो हुने गरेको छ ।’ उनले अधिकांश विदेशमा र केही मात्र गलकोट क्षेत्रका होटल व्यवसायीहरुलाई विक्री गर्ने गरेको बताउँछन् ।
गलकोट क्षेत्रबाट जापान, अमेरिका, बेलायत लगायत युरोपका विभिन्न मुलुकमा धेरै युवाहरु रोजगारीका लागि गएकाले पनि सुकेको माछा त्यहाँ पठाउने चलन बढेको जलारीहरुको भनाई छ । ‘अहिले जापान लगायतका मूलुकमा गलकोटे युवाहरुका सयौं होटल तथा रेष्टुरेण्टहरु छन्, यहाँ खरिद गरेर लैजाने माछा त्यहाँको रेष्टुरेन्टमा अझ महङ्गोमा विक्री हुन्छ,’जलारी काउचा भन्छन् ।
मधयपहाडी लोकमार्गले यातायातको सहज पहुँच बढाएपछि नेपाल भित्रका विभीन्न ठाउँबाट यात्रा गर्नेहरुले पनि दरमखोलाको माछा किनेर लैजाने गरेका छन् । ‘सडक नचल्दा आलो माछा विक्री गर्ने बजार गलकोट क्षेत्रका बजार मात्र थिए, अहिले सडक सञ्चालनमा आएपछि पूर्व पश्चिमका मानिसहरुले पनि माछा खरिद गरेर लैजाने गरेका छन्,’ स्थानीय होटल व्यवसायी अर्जुन केसीले भने,‘एक पटक यहाँको माछाको स्वाद लिनेहरु माछा किनेर लैजान चाहान्छन् ।’
पछिल्ला दिनहरुमा खोलामा माछा पनि घटेको जलारी रामबहादुर श्रीस बताउँछन् । ‘विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने चलनले गर्दा अहिले खोलामा माछा कम हुँदै गएको छ,’ श्रीसले भने,‘आलो र सुकेको दुबै प्रकारको माछाको माग धेरै नै छ, हामीले माग अनुसार माछा पु¥याउन सकेका छैनौं ।’
गल्कोटको पहिचानको रुपमा रहको असला माछा जोगाउनका लागि करेन्ट तथा विषदीको प्रयोग गरेर माछा मार्नेहरुलाई कारबाही गर्नुपर्ने स्थानीय बताउँछन् ।