
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
बिहीवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्मका सकिने बताए । संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही ढिला भएको बताए । उनले मञ्च तीन तहमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताए ।
‘अब हामी लगभग लगभग तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । हाम्रो ९० प्रतिशत काम सकिएको छ । आज हामी बेलुका १० बजेसम्म प्रचारप्रसार लगायत सम्पूर्ण तयारी सम्पन्न गर्नेछौँ । प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपर्ने भएको कारणले ढिला भएको हो’ उनले भने, ‘मञ्च तीन स्टेपमा छ, पहिलोमा साँस्कृतिक संघको कार्यक्रम हुन्छ । दोस्रोमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरुलाई दोस्रो रोमा राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रिय सदस्य लगायत अन्य अतिथिहरुलाई राख्नेछौँ । करिव साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुन्छन् ।’
संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए । कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रवारबाट २७ गतेसम्म हुँदैछ ।